काठमाडौं, १२ वैशाख । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको पहिलो चरणको निर्वाचन कार्यतालिकामा सामान्य हेरफेर गर्दै जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । राजधानीको कान्तिपथस्थित आफ्नै कार्यालयमा पत्रकार सममेलन गर्दै आयोगले दुई चरणमा हुने स्थानीय तह निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो । पहिलो चरणको निर्वाचनको लागि ३ वटा प्रदेशका ३४ जिल्लाका २ सय ९३ वटा स्थानीय तहमा निर्वाचन हुने आयोगले जनाएको छ ।
आयोगले पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गर्न बैशाख १९ र निर्वाचन चिह्न प्रदान गर्न बैशाख २२ गतेको मिति निर्धारण गरेको हो । यसअघि आयोगले यही शनिवार मनोनयन दर्ता गर्ने समय निर्धारण गरेको थियो ।
दोस्रो चरणमा हुने निर्वाचनका लागि भने आयोगले जेठ १९ गते देखिको कार्यतालिका तय गरेको छ । उम्मेदवारी मनोनयन पत्र दर्ता जेठ १९ र उम्मेदवारलाई निर्वाचन चिन्ह जेठ २२ गते उपलब्ध गराउने प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले बताए ।
पहिलो चरणको निर्वाचन सम्पन्न भए लगत्तै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाइने र दोस्रो चरणको मतदान अघि नै मतगणना गरिने प्रमुख निर्वाचन आयुक्त यादवले बताए । यस्तै, आगामी बजेट ल्याउँदा सरकारले आयोगसंग परामर्श गर्नुपर्ने प्रमुख निर्वाचन आयुक्त यादवको भनाई छ ।
चुनाव चिह्नको माग गर्दै आन्दोलनमा रहेका बिभिन्न दल र मधेसी मोर्चा आवद्ध ६ दल मिलेर बनेको राष्ट्रिय जनता पार्टीलाई कानुनी अड्चनका कारण चुनाव चिह्न दिन नसक्ने यादवले स्पष्ट पारे । यस्तै, नेपालमा बोलिने राष्ट्र भाषा मध्यै १७ प्रकारका राष्ट्र भाषमा समेत मतदाता शिक्षा सामाग्री तयार पारिएको आयोगले जनाएको छ ।
निर्वाचन पर्यवेक्षकका लागि राष्ट्रिय पर्यवेक्षकलाई अनुरोध गर्ने नीति अघि सारेको आयोगले जनाएको छ । आयोगले ४१ वटा संस्थाबाट ४७ हजार ६ सय ६६ जनालाई निर्वाचन पर्यवेक्षकको अनुमति प्रदान गरेको यादवले बताए । कान्तिपुरमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्