Banner News

राष्ट्रपति भण्डारीले युद्ध सङ्ग्रहालयको उद्घाटन गर्ने



सिन्धुलीगढी, १३ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको उद्घाटन गर्नुहुने भएको छ ।

युद्ध सङ्ग्राहलयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुहुने भएको छ । नेपाली सेनाले करिब रु सात करोड लगानीमा बनाएको युद्ध सङ्ग्रहालय भवन र सजावटको काम सकिएको छ ।

सङ्ग्रहालयमा युद्धकालीन अवस्थाका पात्रहरु, सिन्धुलीगढी युद्धको टाइम लाइन, सेनाको नजरमा युद्धको परिदृश्य, सिन्धुलीगढी युद्धका वृत्तचित्र, चरणबद्ध युद्धका चित्रहरु, तत्कालीन युद्धमा प्रयोग भएका घरेलु हतियार, युद्धकालीन हातहतियार, अङ्ग्रेजहरुले प्रयोग गरेका तोप, नेपाली योद्धा, ब्रिटिस योद्धा, नेपाली योद्धाका कलाचित्र, मिथिला कला, बेलायतीहरुको नाममा बनाइएका स्तम्भ, युद्धकालीन शिलालेख, ऐतिहासिक दस्तावेज तथा इतिहासका पुस्तकालय राखिएको छ ।

सिन्धुलीगढी युद्ध सङ्ग्रहालय भवनको निर्माण काम न्यू ड्रागन/सिद्धगढी जेभी कोटेश्वरले गरेको थियो । भवनको डिजाइनर आर्किटेक्निक डेभलपमेन्टले गरेको हो । यस्तै भित्री सजावटको काम अल्टरनेट इन्फ्रास्ट्रक्चर प्रालि धुलिखेलले गरेको छ ।