Banner News

एमालेविरुद्ध ल्याएको अध्यादेशको बाँण कांग्रेस-माओवादीमा रोपिदैं छः नेता बस्नेत



भक्तपुर, ३ भदौ । नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारले एमालेलाई विभाजन गर्न ल्याएको अध्यादेशको बाँण कांग्रेस तथा माओवादी केन्द्रमा रोपिने चेतावनी दिनुभएको छ । उहाँले अध्यादेशको प्रयोग गरी कांग्रेस तथा माओवादीका असन्तुष्ट पक्षहरुले पार्टी विभाजन गरी वर्तमान परमादेशको सरकारविरुद्ध लाग्ने तयारी भइरहेको खुलासा गर्नुभयो ।

नेकपा भक्तपुरका अध्यक्ष बचन देउजाको अध्यक्षतामा आज भएको अध्यक्ष केपी ओलीको विशेष सम्बोधन कार्यक्रममा बोल्दै नेता बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको षड्यन्त्रमा माधवकुमार नेपालको समर्थनमा ल्याएको अध्यादेशले एमालेलाई भन्दा ठूलो क्षती माओवादी र कांग्रेसमा पुग्ने चेतावनी दिनुभयो । कांग्रेस र माओवादी फुटेसँगै यो सरकारले पूर्णता नपाउँदै अल्पमतमा पर्नेछ दावी समेत गर्नुभयो ।

सरकारले ल्याएको अध्यादेशले एमालेमा खासै असर नपर्ने उल्लेख गर्दै नेता बस्नेतले एमाले पार्टी विभाजन भएको नभई केही स्वार्थी व्यक्तिहरु टुक्रिएर वा चोइटिएर मात्र गएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो,’ग्रहहरु कहिले काँही टुक्रिन्छन् । विभिन्न खाले उल्टो पिण्डहरु आकाशबाट झर्ने गर्छन् । तर सूर्य, पृथ्वी र चन्द्रमालाई हानी गर्नको निमित्त गहहरु र उल्का पिण्डहरुलाई निक्कै ठूलो चुनौति हुन्छ । एमालेबाट केही साथीहरु टुक्रिनुभयो होला, चोइटिनुभयो होला । तर सूर्य रुपी नेकपा एमालेलाई केही पनि असर पर्दैन ।’

विगतमा भक्तपुरमा ८ जना माधव नेपाल समूहमा रहे पनि हाल पार्टी विभाजनको प्रकृयामा अगाडी बढेसँगै उहाँहरु पनि सग्लो एमालेमा नै रहेको भन्ने उद्घोष गरिसकेको जानकारी गराउँदै उहाँले एमालेबाट भक्तपुरका तीन वटै तहका निर्वाचित जनप्रतिनिधि पार्टी विभाजनको पक्षमा नरहेको स्पष्ट पार्नुभयो । देशभरका युवा विद्यार्थीमा पार्टी विभाजनको असर नरहेको उल्लेख गर्दै नेता बस्नेतले भक्तपुरले एक लाख एमालेलाई आगामी निर्वाचनमा ल्याउने समेत दावी गर्नुभयो ।

माधव नेपालले ५८ जना केन्द्रीय सदस्यहरुको नाम निर्वाचन आयोगमा बुझाएकोमा आज विहानसम्म १३ जनाले नाम फिर्ता लिएसकेको जानकारी गराउँदै उहाँले सांसदको ३१ जनाको नाम बुझाएकोमा हाल ७ जनाले आफ्नो नाम फिर्ता लिइसकेको बताउनुभयो । माधव समूहको नेतृत्वले सरकारले षड्यन्त्रबाट ल्याएको अध्यादेशमा २० प्रतिशत केन्द्रीय कमिटी वा संसदमा पुर्याउनुपर्ने व्यवस्था गरेको तर उक्त समूहले दुवैमा २० प्रतिशत पुर्याउन ठूलो चुनौती रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अबको दुई तीन दिनभित्रमा केन्द्रीय कमिटी तथा सांसदमा अहिले ल्याएको दुई मध्ये एकमा २० प्रतिशत भए पुग्ने प्रतिगामी अध्यादेश ल्याए पनि माधव नेपालले २० प्रतिशत पुर्याउन नसक्ने अवस्था आएको छ । देउवा तथा प्रचण्डको षड्यन्त्र र माधवको समर्थनमा ल्याएको उक्त मापसे सरकारले ल्याएको अध्यादेश कार्यान्वयन गर्न समेत चुनौति हुने छ । केन्द्रीय सदस्य तथा सांसदमा २० प्रतिशत माधवको पक्षमा नपुग्ने परिस्थिती सिर्जना हुँदै गएको छ ।’

केपी ओली नेतृत्वको सरकारले भक्तपुरमा चार वर्षमा २० अर्वभन्दा बढी बजेट ल्याई विकासले कायापलट नै गरेको सविस्तार प्रस्तुत गर्दै उहाँले ओली नेतृत्वको सरकारले पाँच हजार क्षमताको आधुनिक सभागृह, दुई वटा स्मार्ट सहर, वीर अस्पताल, क्यान्सर अस्पताल, छाती रोग अस्पताल, सूर्यविनायक, मानव अंग प्रत्यारोपण केन्द्र, प्राणी उद्यान केन्द्रलगायतका ठूला ठूला आयोजनाको लागि बजेट व्यवस्थापन गरिएको जानकारी गराउनुभयो । केपी ओलीको काल भक्तपुरको विकासका लागि स्वणीम युग भएको समेत दावी गर्नुभयो ।

सरकारले अफगानिस्तामा रहेका १५ हजार नेपालीलाई फर्काउन नसकेको, वेलायतमा अनसन बसेका भूपू गोर्खालीको पक्षमा बोल्न नसकेको उल्लेख गर्दै नेता बस्नेतले पाँच हप्तासम्म सरकारलाई पुर्णता समेत दिन नसक्ने सरकारले जनताको पक्षमा काम गर्न नसक्ने ठोकुवा गर्नुभयो । सरकारले अध्यादेश ल्याएर नेपालमा विकृति र विसंगतीलाई सुरु गरेको, निर्दलीय तर्फ धकेलेको समेत उहाँले दावी गर्नुभयो । करिव २२ लाख सुकुम्वासीलाई जग्गा दिनको लागि बनाइएको सुकुम्वासी सम्वन्धी समस्या समाधान आयोग विघटन गरेर भूहिन तथा गरिव जनतामाथि निर्मम प्रहार गरेको भन्दै आक्रोस जनाउनुभयो ।

सभामुखले १४ जनालाई कारवाही गर्न आनकानी गरेको उल्लेख गर्दै उहाँले सभामुखले दलीय व्यवस्था अनुसार गरेको कारवाहीलाई प्रकृयामा नगए सशक्त र प्रतिरोधात्मक गतिविधि अगाडी बढाउने चेतावनी समेत दिनुभयो । उहाँले भन्नुभयो, ‘सरिता गिरीलाई जनता समाजवादी पार्टीले पत्र पठाएको १२ घण्टा भित्रमा कारवाही गरेको, टोबहादुर रायमाझी, प्रभु शाह, लेखराज भट्टलगायतलाई २४ घण्टाभित्रमा कारवाहीको प्रकृया अगाडी बढाएको तर एमालेले कारवाहीको प्रकृया अगाडी बढाउँदा ७२ घण्टासम्म पनि कारवाहीको सूचना ननिकालेको छैन । यसबाट बुझ्न सकिन्छ, सभामुख एक स्वतन्त्र नभई माओवादीको कार्यकर्ता मात्र हुनुभएको छ ।’