समाचार

खोला तर्ने क्रममा नगर प्रहरी बेपत्ता



सोलुखुम्बु, ९ भदौ । सोलुदूधकुण्ड नगरपालिकामा कार्यरत नगर प्रहरी खोलामा बेपत्ता भएका छन् । वडा नम्बर–२, मोपुङको वासा खोला तर्ने क्रममा मोटरसाइकलसहित बगाउँदा नगर प्रहरी दावातेन्जी शेर्पा बेपत्ता भएको प्रहरीले जनाएको छ ।

सोही नगरपालिकाको वडा नम्बर–८, केरुङ घर भएका २२ वर्षीय शेर्पा प्रदेश–३–१०२००८प ३१५३ नम्बरको मोटरसाइकलमा सल्लेरीबाट मोपुङ हिँडेको बुझिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कवित कटवालले जानकारी दिए । घटना मंगलबार दिउँसो भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मोटरसाइकल भेटिए पनि शेर्पा अझैसम्म बेपत्ता छन् । उनको खोजीका लागि ठूलो संख्यामा जनपथ प्रहरीसहित स्थानीय जनप्रतिनिधि, नगर प्रहरी, स्थानीयवासी सक्रिय भए पनि खोला बढेकाले समस्या भएको प्रनाउ कटवालको भनाइ छ ।

गत वर्ष पनि सोही खोला तर्ने क्रममा एक पुरुषलाई बगाएकोे वडाध्यक्ष मिङमार दोर्जी शेर्पाले बताए । रासस