काठमाडौँ, १० भदौ । नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलले परमादेशको सरकार र अध्यादेशको पार्टीलाई नयाँ जनादेशबाट प्रतिस्थापन गर्ने बताउनुभएको छ ।
जनादेशबाट प्राप्त नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सर्वोच्च अदालतको परमादेशबाट हटाई कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरी जनताको जनमतलाई अवमूल्य गरेको नेता पोखरेलको तर्क रहेको छ । परमादेशको सरकार र अध्यादेशको पार्टीले जनआन्दोलन तथा जनताको भावनालाई प्रतिनिधित्व गर्न नसक्ने दावी गर्दै नेता पोखरेलले आगामी नयाँ जनादेशबाट प्रतिस्थापन गर्ने चेतावनी दिनुभयो ।
केही समय अघि सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर एमालेबाट विभाजित भई माधवकुमार नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी पार्टी दर्ता भएको छ । सरकारले २० प्रतिशत पार्टीको केन्द्रीय कमिटी वा संसदमा २० प्रतिशतको संख्या पुगेमा पार्टी विभाजन गर्न पाउने व्यवस्था सहितको अध्यादेश ल्याएको थियो । जसले गर्दा एमाले र जनता समाजवादी पार्टी विभाजन भएका छन् ।
उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘परमादेशको सरकार र अध्यादेशको पार्टीले जनआन्दोलन र जनभावनाको प्रतिनिधित्व गर्न सक्तैनन् । नयाँ जनादेशवाट त्यसको प्रतिस्थापन गरिनेछ ।’










प्रतिक्रिया दिनुहोस्