समाचार

यसकारण मृत्यु रोज्न वाध्य छन् लैंगिक अल्पसंख्यक



काठमाडौँ, १३ भदौ । केही दिनअघि पारलिंगी महिला (ट्रान्सवुमन) अमिशा भण्डारी आफैंलाई सिध्याउने कठोर निर्णयमा पुगिन् । २० दिन अस्पताल बसेपछि ठीक त भइन्, अझै सामान्य भएकी छैनन् । १५ दिन भेन्टिलेटर र ५ दिन हाई केयरमा उपचार गरी नयाँ जीवन दिन चिकित्सक सफल भए ।

धन्न यो समुदायको संस्था नीलहिरा समाज थियो र उपचार सम्भव भयो । अध्यक्ष पिंकी गुरुङले यसको चाँजो मिलाएकी थिइन् । ‘अत्यन्तै तनावमा थिएँ। नशाको तालमा नराम्रो निर्णय लिएछु’, भण्डारीले भनिन् । तनाव अरू केहीले होइन, लैंगिक अल्पसंख्यकलाई राज्य र समाजले हेर्ने दृष्टिकोण अनि पाइला–पाइलामा दिने दुःखले सिर्जना गरेको थियो ।

नीलहीरा समाजको तथ्यांकअनुसार लकडाउनमा मात्र २४ जना लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिले स्वेच्छिक मृत्यु रोजेका छन् । अध्यक्ष गुरुङले भनिन्, ‘बेलैमा उपचार गरेर भण्डारी र अरू ३ जनालाई चाहिँ बचाउन सफल भयौं । आवेगमा आएर ज्यानै फाल्ने निर्णय गर्नुको पछाडि विभिन्न कुराले प्रेरित गरेको उनीहरूको तर्क छ । झुटो प्रेम, बुलिङ, अपहेलना, तिरस्कार, परिवार, समाजको अस्वीकार, अनावश्यक दबाब, आर्थिक भार, लैंगिक पहिचान नहुनु आदि मुख्य जड बनेका छन् ।

भण्डारीले पनि आफ्नो वैवाहिक जीवनमा असन्तुलन महसुस गरेकी थिइन् । तर, उनले कसैलाई पनि यस्तो कदम नउठाउन आग्रह गरिन् । भनिन्, ‘शरीर पूरै गलेको छ, निकै गाह्रो हुँदोरहेछ । आवेगमा आउँदा दुःख पाइने रहेछ । जिन्दगीको महत्व बुझांै, अमूल्य जीवन खेर नफालौं ।’
लकडाउनकै बीच धनगढीमा समलिंगी महिला जोडीले एउटै रूखमा झुण्डिएर ज्यान फाले । उक्त दुर्घटना निम्तिन आर्थिक समस्या रहेको बताइएको छ। २३ र २४ वर्षका ती जोडी नेपाल–भारत सीमाबाट सामान ल्याएर व्यापार गर्थे तर लकडाउनपछि यो चलेन ।

नीलहीरा समाजमा कार्यरत मिलन शाहका अनुसार सुदूरपश्चिमबाट आएका ती जोडी दिदीको घरका बस्थे । तर, आफन्तहरू पैसा भइन्जेल माया गर्ने र नभएपछि हेला गर्न थाले । ‘व्यापार बन्द भयो। आफन्तले हेला गर्न थाले । आर्थिक भार र अपहेलनाका कारण ज्यानै लिएको देखियो ।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।