पोखरा, २२ भदौ । नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले माधव नेपाल समूहले पार्टी विभाजन गरेर गम्भीर गल्ती गरेको बताएका छन् ।
आज पोखरामा एमाले जिल्ला भेलालाई सम्बोधन गर्दै नेता पाण्डेले नेपाल समूह फर्किए अझै पनि क्षमादान दिने बताए । उनले भने, ‘उहाँले शक्ति क्षय गर्ने र कमजोर बनाउने बाटोमा लाग्नुभयो । त्यसैले फर्कनुस् भन्न चाहन्छु, ‘गल्ती त गरिसक्नुभयो, पार्टी हो फर्कनुस्, क्षमदान गर्छौं ।’
पार्टीलाई मिलाउन कार्यदल निरन्तर लागिरहेको भए पनि नेपाल समूह छाडेर गएको पाण्डेको भनाइ थियो । ‘केही सुखद केही दुःखद् स्थितिमा हामी छौं । पार्टीलाई एकतावद्ध बनाउने टिममा पनि थिएँ । माधव नेपाल समूह छाडेर गयो, अन्तिमसम्म पनि नजानुस्, यहीं बस्नुस् यही हो हाम्रो घर हो भन्यौं तर छोडेर जानुभयो,’ पाण्डेले भने ।
केहीले कार्यदलका नेताले नेपाल समूहलाई छोडेर धोका दिएको भन्ने गरेको भन्दै नेता पाण्डेले धोका आफूहरुले होइन, नेपालहरुले धोका दिएको बताए । ‘तपाईंहरुले पार्टी फुटाएर धोका दिएर जानुभयो, हामी अन्तिमसम्म पनि मिलाउने अभियानमै थियौं । अनेक चरणमा वार्ता गर्दै गयौं,’ पाण्डेले भने, ‘६ बुँदे सहमतिको आधार तयार पारेको, त्यसैको आधारमा १० बुँदे सहमति भयो । तर, हाम्रो प्रयास आंशिक सफल भयो आंशिक असफल भयो ।’










प्रतिक्रिया दिनुहोस्