समाचार

आज गणेश चतुर्थी: गणेश भगवान्को पूजा आराधना गरी मनाइँदै



काठमाडौँ, २५ भदौ । आज भाद्र शुक्ल चतुर्थीको दिन भगवान् गणेशको पूजा आराधना गरी मनाइँदै छ ।

सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिन्छ ।

aनयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणको त्रास कायम रहेपनि काठमाडौँ उपत्यकालगायत देशभरका सबै मन्दिर खुलिसकेका छन् । कोरोना त्रासका कारण कतिपय भक्तजनले भने घरमै गणेशको पूजा आराधना गर्नेछन् ।

शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ । आज हरितालिका(तीज) को व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका व्रतालुले चतुर्थीका दिन जीवनमा विघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ ।