समाचार

आज ऋषि पञ्चमी मनाइँदै



काठमाडौँ, २६ भदौ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाइँदैछ ।

महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गएर ३ सय ६५ वटा दतिवनले दाँत माझ्ने र स्नान गर्ने चलन छ ।

स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । सप्तऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो । आज काठमाडौँको टेकु, मूलपानीलगायत देशभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको भीड लाग्छ ।