काठमाडौँ, ३० भदौ । आजबाट १२ औं राष्ट्रिय जनगणना शुरु भएको छ ।
भदौ ३० देखि असोज १८ गतेसम्म सुपरिवेक्षकहरू घर-घरमा पुगेर घर र घरपरिवारका सदस्यहरूको सूचीकरणको काम गर्ने केन्द्रीय तथ्यांक विभागका निर्देशक एवम् सूचना अधिकारी तीर्थ चौलागाईंले जानकारी दिए । सूचीकरणमा घरपरिवारमा बसोबास गर्ने सदस्य महिला, पुरुष र यौनिक तथा लैंगिक अल्पसंख्यकको संख्यासमेत विवरण भरिनेछ ।
गत २७ र २८ भदौमा तालिम पाएका ८ हजार ५ सय सुपरिवेक्षकहरुलाई सूचीकरणमा खटाइएको छ । सूचीकरणकै आधारमा मूल गणना गरिन्छ । असोज १८ पछि गणक भर्ना गरी कात्तिक १३ देखि १६ गतेसम्म तालिम दिइने छ । गणकहरुको तालिमपछि मूल जनगणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुनेछ । मूल जनगणनामा ३९ हजार गणकले प्रत्येक घरपरिवारमा मूल प्रश्नावली सोध्ने र विवरण भर्ने काम गर्नेछन् ।
यसअघि १६ वैशाखमा सुपरिवेक्षक तालिम सुरु गर्ने, २६ गतेदेखि घरपरिवार सूचीकरण गर्ने, १७ जेठबाट गणकलाई तालिम दिने, २५ जेठबाट मूल गणना कार्य थाल्ने कार्यतालिका थियो । तर, कोरोना महामारीका कारण सो कार्यतालिकाअनुसारको काम स्थगित गरिएको थियो ।










प्रतिक्रिया दिनुहोस्