काठमाडौँ, २ असोज । प्रजातन्त्र पुनः स्थापनाका लागि भएको विसं २०४६ को जनआन्दोलनका सर्वोच्च नेता गणेशमान सिंहको २५औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । नेता सिंह नेपाली राजनीतिमा त्याग र साहसका धनी व्यक्तित्व थिए ।
आन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले नारायणहिटी दरबारमा बोलाएर तपाईंले नेतृत्व गर्नुभएको आन्दोलन सफल भएको छ, अब तपाईं प्रधानमन्त्री बन्नुहोस् भन्दा उनले त्यसलाई अस्वीकार गरे । उनको जवाफ थियो, ‘‘यो आन्दोलन म आफैँ प्रधानमन्त्री हुन गरेको होइन ।’’
नेपाली काँग्रेसका कार्यवाहक सभापति नेता कृष्णप्रसाद भट्टराईको नाम प्रधानमन्त्रीमा प्रस्ताव गरेपछि उनी नेपाली राजनीतिमा त्यागी नेताका रूपमा उदाए । इतिहास पुरुषहरूका विचारमा गणेशमान सिंह नामक पुस्तकमा गोविन्दप्रसाद उपाध्यायको स्मरण छ, ‘‘२०४६ को जनआन्दोलन सफल भएपछि गणेशमान नेपालको हिरो हुनुभयो, त्यसैले उहाँलाई सबैले सर्वमान्य भने । उहाँको त्याग, तपस्या, बलिदान र प्रजातान्त्रिक सङ्घर्षका लागि निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिका कुनै पनि विश्व स्तरका राजनेताहरूसँग दाँज्न नसकिने उहाँको उचाइ छ ।’’










प्रतिक्रिया दिनुहोस्