Banner News

संविधानद्वारा प्रत्याभूत नागरिक आकाङ्क्षालाई कार्यरूप दिनु हाम्रो युगीन अभिभारा हो: राष्ट्रपति भण्डारी



काठमाडौँ, ३ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानमा सबै नागरिकको समान पहुँच हुनुपर्ने बताउनुभएको छ ।

संविधान दिवस तथा राष्ट्रिय दिवस–२०७८ को अवसरमा शुभकामना दिनुहुँदै जनताको बलिदानपूर्ण संघर्षबाट प्राप्त संविधानमा सबै नागरिकको समान पहुँच हुनुपर्ने बताउनुभएको हो । उहाँले राज्यबाट प्राप्त सेवा तथा सुविधा स्थापित गरी आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्नेमा जोड दिनुभएको छ ।

सन्देशमा भनिएको छ, ‘संविधानद्वारा प्रत्याभूत नागरिक आकाङ्क्षालाई कार्यरूप दिनु हाम्रो युगीन अभिभारा हो । जननिर्वाचित संविधान सभाद्वारा २०७२ साल असोज ३ गते जारी संविधान लोकतान्त्रिक प्रणाली स्थापना गर्ने मार्गदर्शन हो ।’

लामो समयको संक्रमणकाल र द्वन्द्वलाई समाप्त पार्न सफल राजनीतिक दलहरूलाई संविधानप्रदत्त नागरिक अधिकारको उपयोग गरी शान्तिपूर्ण माध्यमबाट राजनीतिक उद्देश्य हासिल गर्न राष्ट्रिय राजनीतिको मूल प्रवाहमा सामेल हुनसमेत राष्ट्रपति भण्डारीले आग्रह गर्नुभएको छ ।