राजनीति

नेता बर्तौलालाई उपाध्यक्ष श्रेष्ठको चेतावनीः जीवन वीमा गरेर मैदानमा आउ



काठमाडौँ, १० असोज । नेकपा एमालेको प्रभावशाली भातृ संगठन राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष तथा युथफोर्स उपप्रमुख पुष्प श्रेष्ठले माओवादीका नेता जनक बर्तौलालाई खुल्ला चुनौति दिनुभएको छ ।

सस्तो लोकप्रीयता कमाउन नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री, प्रतिनिधिसभाका सांसद तथा संघका इन्चार्जमाथि अराजनीतिक भाषा प्रयोग गरेको भन्दै उपाध्यक्ष श्रेष्ठले कडा रुपमा आपत्ती जनाउनुभयो । नेता श्रेष्ठले मानसिक सन्तुलनमा समस्या भएको भए पाटन अस्पतालमा गई उपचार गराउन बर्तौलालाई सुझाव दिँदै पाखुरी कै घमण्ड भएको भए जीवन वीमा गरेर मैदानमा आउन चेतावनी समेत दिनुभयो ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘सस्तो लोकप्रियता कमाउन जनक बर्तौलाजीले नेकपा एमालेका केन्द्रीय सदस्य,युबा आन्दोलनका नायक तथा लोकप्रिय नेता महेश बस्नेतलाई भिडन्तको निम्तो दिएको सुनेँ ! तपाईको अभिव्यक्ति सपनामा बर्बराएको जस्तो सुनियो । स्यालले सिंहलाई चुनौती दिएजस्तो देखियो ।

मानसिक सन्तुलन बिग्रिएको भए – पाटन मानसिक अस्पतालमा उपचार गराउनु । दिमाग बिग्रिएको छैन भने अबदेखि बोल्नु अघि आफ्नो औकात र हैसियत हेर्नु ! म पनि बिगतमा माओवादी पृष्ठभूमिबाट आएको हुँ । तपाईको औकातको बारेमा मलाई राम्रो जानकारी छ ।

जिम्मेवार व्यक्तिले बोल्दा जिम्मेवार ढंगले बोल्नुपर्छ । राजनीतिक एजेण्डा छन् भने मैदानमा राजनीतिक बहस गरौँ ! पाखुरी कै घमण्ड छ भने जीवन बिमा गरेर मैदानमा आउँ तिमीलाई ठिक लगाउन म नै काफी छु ! युवासंघ नै काफी छ !! युथफोर्स एउटा सिपाही नै काफी छ !!!’