समाचार

आजको मौसम



काठमाडौँ, १३ असोज । बङ्गालको खाडीको उत्तर पश्चिम भू-भाग, पश्चिम बङ्गाल र आसपास बनेको न्यून चापीय क्षेत्रको नेपालमा सामान्य प्रभाव परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर रहेको छ । हाल देशभर आंशिक देखि सामान्य बदली भई एक(दुई स्थानमा वर्षा भइरहेको छ ।

त्यस्तै आज देशभर आंशिकदेखि सामान्य बदली रही धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

वर्षाको सम्भावना रहेकाले उक्त स्थानका पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क हुन महाशाखाले अनुरोध गरेको छ ।