राजनीति

राष्ट्रिय सहमतिमा एमसीसी पारित गर्नुपर्छः मन्त्री खड्का



न्यूयोर्क, १३ असोज । परराष्ट्रमन्त्री नारायण खड्काले दलीय सहमतिको आधारमा एमसीसी पारित गरिनुपर्नेमा जोड दिनुभएको छ ।

न्यूयोर्कमा नेपाली समुदायसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्री खड्काले एमसीसीबारे कतिपय भ्रम समेत रहेकोले त्यसलाई सरकारले प्रस्ट पार्न कोसिस गर्ने बताउनुभयो । एमसीसीलाई धेरै गिजोल्न तिर लाग्न नहुने बताउँदै उहाँले यो एक दलले मात्र गरेर नहुने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘सबै दल बसेर छलफल गरौँ, हामीलाई चाहिने हो भने पारित गरौँ नभए नगरौँ । हामीलाई यो चाहिन्छ भन्ने निष्कर्षमा पुगिन्छ भने पारित गरौँ , नभए नगरौँ । सरकार वा कुनै एक दलले मात्र चाहेर एमसीसी पारित हुने अवस्था छैन । यसमा राष्ट्रिय सहमति अवश्यक छ ।’

राजनीतिका दलकै पिच्छेको विदेश नीतिले मुलुकको वैदेशीक सम्बन्ध संचालन हुन नहुने उललेख गर्दै मन्त्री खड्काले देशको विदेश नीतिलाई राजनीतिक दलको नीतिले प्रतिस्थापन गर्ने खोज्दा समस्या आउने दावी गर्नुभयो ।