विश्व

कांग्रेसकी महासचिव प्रियंका गान्धी पक्राउ



एजेन्सी, १८ असोज । भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धीलाई प्रहरीले हिरासतमा लिएको छ ।

आज बिहान करिब साढे पाँच बजे उत्तरप्रदेशमा पर्ने सितापुरको हरगाउँबाट गान्धीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उत्तर प्रदेशको लखिमपुर खिरी भन्ने स्थानमा जारी किसानहरुको आन्दोलनमा सहभागी हुन जाने क्रममा प्रहरीले गान्धीलाई नियन्त्रणमा लिएको हो । गान्धीलाई प्रहरीले लखनउमै रोक्न खोजेको थियो । सो क्रममा केहीबेर कांग्रेस कार्यकर्ता र प्रहरीबीच धक्कामुक्की पनि भएको थियो । तर उनी प्रहरीलाई छल्दै केहीबेर पैदल हिंडेर गाडीमा चढिन् र लखिमपुर खिरी प्रस्थान गरिन् । गान्धीसँगै कांग्रेसका अन्य नेताहरुलाई त्यतै प्रस्थान गरेका थिए ।

प्रहरीले गान्धीलाई पक्रनका लागि सडकका विभिन्न ठाउँमा गाडीहरु रोक्दै चेकिङ गर्दै आएको थियो । सोही क्रममा सितापुरको हरगाउँमा फेला पारेर प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । उत्तर प्रदेश कांग्रेसले गान्धीलाई प्रहरीले पक्रेर हिरासतमा राखेको जानकारी दिएको छ ।