समाचार

आजको मौसम



काठमाडौँ, २२ असोज । हाल प्रदेश १ र गण्डकी प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार प्रदेश १ र गण्डकी प्रदेशबाहेक अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली रहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाँकी प्रदेशका केही स्थानमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यस्तै काठमाडौंमा आज मौसममा बदली भइरहने र छिटपुट वर्षाको सम्भावना रहेको छ । आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

यो वर्ष मनसुन अझै सक्रिय छ । औसत समय कटेको ६ दिन बितिसके पनि मनसुन सक्रिय नै छ । सामान्यत नेपालबाट मनसुन अक्टोबर २ तारिकबाट बाहिरिन्छ । तर, यो वर्ष नेपालमा मनसुन अझै केही दिन सक्रिय रहने भएको छ ।

यद्यपि, भारतको राजस्थानबाट मनसुन हट्न थालेको र त्यो सर्दै नेपाल प्रवेश गरेर यहाँबाट पनि बाहिरिने गर्छ ।