राजनीति

कांग्रेसलाई गुटउपगुटमुक्त पार्टी बनाइन्छ : वरिष्ठ नेता पौडेल



बागलुङ, ४ कार्तिक । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४औँ महाधिवेशनपछि नेपाली कांग्रेसमा गुटउपगुटको अन्त्य भएर जाने विश्वास व्यक्त गर्नुभयो ।

बागलुङस्थित नेपाली कांग्रेस काठेखोला गाउँपालिका–५ बिहुँले आउँदै गरेको शुभदिपावलीलगायत चाडपर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रममा नेता पौडेलले कांग्रेसलाई अब गुटको हिसाबले नभएर सिङ्गो कांग्रेसको हिसाबले हेर्न आम कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले गुटउपगुटले कांग्रेस कमजोर भएर जाने भन्दै यसको अन्त्य गरी पार्टी एकजुट भएर अगाडि बढ्ने बताउनुभयो ।

पौडेलले भन्नुभयो, “हामी १४औँ महाधिवेशनमा छौँ, अहिले शेरबहादुर देउवा पक्ष, रामचन्द्र पक्ष भनिए पनि यो गुट हैन । महाधिवेशनपछि कांग्रेस झनै सशक्त भएर अगाडि बढ्छ, कांग्रेस अब व्यक्ति हैन पार्टी हो, कसैले शेरबहादुर र रामचन्द्र भनेर ट्याग लगाउन जरुरी छैन ।”