काठमाडौँ, ५ कार्तिक । नेकपा एमालेले मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने दशौं महाधिवेशनका लागि एमाले स्थायी कमिटी बैठकले बिहीबार रामबहादुर थापा बादलको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन गरेको थियो ।
शुक्रबारको स्थायी कमिटी बैठकले समितिको सहसंयोजक, सचिव र सदस्यहरु पनि तोकेको छ । सचिवमा विष्णु रिमाल रहने निर्णय भएको पार्टी सचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको मूल व्यवस्थापन समिति सहसंयोजकमा सुरेन्द्र पाण्डे तोकिनुभएको छ । सदस्यहरुमा पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, काशीनाथ अधिकारी, भानुभक्त ढकाल, यमलाल कँडेल, राजन भट्टराई, देवी ज्ञवाली, सीता पौडेल, विनोद श्रेष्ठ, आनन्द पोखरेल, लिला गिरी, कपिल पोखरेल, कृष्णभक्त पोखरेल, पार्वती रावल रहनुभएको छ । एक सदस्य भने पछि मनोनयन गर्ने बैठकले निर्णय गरेको छ ।
बैठकले दशौं राष्ट्रिय महाधिवेशनको प्रतिनिधिको योग्यताबारे पनि निर्णय गरेको छ । प्रवक्ता ज्ञवालीका अनुसार २०७७ साल चैत मसान्तसम्म सदस्य बनेको र नवीकरण गरेकाहरु प्रतिनिधि बन्न सक्नेछन् । महाधिवेशनमा विद्युतीय मतदान मेसिन प्रयोग समेत निर्णय भएको छ । त्यसको प्रक्रिया अगाडि बढाउन निर्वाचन समितिलाई आग्रह गर्ने बैठकले निर्णय गरेको छ । महाधिवेशनबारे थप निर्णय गर्न एमालेले ११ कात्तिकमा स्थायी कमिटी बैठक र १२ कात्तिकमा केन्द्रीय कमिटी बैठक बोलाएको छ ।










प्रतिक्रिया दिनुहोस्