काठमाडौँ, ७ कार्तिक । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले त्याग गर्नुपर्ने अवस्था आउन सक्ने बताउनुभएको छ ।
आइतबार प्रधानन्यायाधिस जबरासँग भएको भेटपछि आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले बारको एजेण्डा न्यायपालिकामा देखिएको समस्याहरुको समाधान भएको बताउनुभयो । भेटमा आफूहरुले राजीनामा नमागेको जानकारी गराउँदै अध्यक्ष श्रेष्ठले न्यायालयमा देखिएका समस्या समाधान हुन्छ भने प्रधानन्यायाधीशले राजीनामा गर्नुपर्ने हुनसक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘राजीनामा त्यसको साधन हुनसक्छ, साध्य होइन । राजीनामा दिएर समाधान हुनसक्ने स्थिति भयो भने त्यो ठाउँमा पनि जानुपर्ला । राजीनामा दिएर मात्र समाधान नहुने हो भने राजीनामा मात्र हामीलाई हुँदैन ।’
अदालतमा विचौलियामार्फत भइरहेको भ्रष्टाचार रोक्न न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिको प्रतिवेदन तत्काल कार्यान्वयन हुनुपर्ने उहाँले उल्लेख गर्नुभयो । तर प्रतिवेदन कार्यान्वयन हुन नसकेको भन्दै उहाँले भन्नुभयो, ‘साउन ६ गते बुझाएको प्रतिवेदन कात्तिक ७ गतेसम्म कार्यान्वयन हुन सकेको छैन । त्यसमा हाम्रो चासो हो । विचौलियाको चलखेल रोक्न आफूखुशी इजलास गठन रोक्नुपर्ने र अटोमेसनमा जानुपर्छ । अटोमेसनमा जान सफ्टवेयर नबन्दासम्मका लागि पर्सिदेखि नमुनाका रुपमा गर्ने प्रधानन्यायाधीशको आश्वासन रहेको छ । यसबारे भोलि फुल कोर्टमा थप छलफल हुनेछ । जहाँसम्म व्यक्तिको कुरा छ, संस्थाको अगाडि व्यक्ति केही होइन । संस्था सुधारका लागि त्याग गर्नुपर्ने अवस्था आउँछ भने त्याग पनि गर्नुपर्छ ।’










प्रतिक्रिया दिनुहोस्