राजनीति

सबै दल लाइ समेटेर मात्र निर्वाचनमा जाने काँग्रेसको निर्णय



काठमाडौँ, १७ वैशाख । नेपाली काँग्रेसले सबै दललाई समेटेर स्थानीय तहको निर्वाचनमा जाने निर्णय गरेको छ ।

काँग्रेस संसदीय दलको कार्यालयमा आज बिहान भएको पदाधिकारी एवम् पूर्वपदाधिकारी बैठकले तराई÷मधेस केन्द्रित राजनीतिक दललाई चुनावमा जाने वातावरण बनाउने निर्णय गरेको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले राससलाई जानकारी दिए।

सबैको सहमतिमा संविधान संशोधन प्रस्ताव पारित गराई चुनावी वातावरण बनाउन व्यवस्थापिका–संसद्को ठूलो दल भएका नाताले काँग्रेसले विशेष भूमिका निर्वाह गर्ने विषयमा पनि बैठकमा छलफल भएको सांसद रामकृष्ण यादवले बताए ।

यही वैशाख ३१ निर्वाचन हुने प्रदेश नं ३, ४ र ६ का ८० प्रतिशत गाउँपालिका एवम् नगरपालिकाका उम्मेदवारको टुङ्गो पार्टीले लगाइसकेको छ । टुङ्गो लागिसकेकाहरुलाई ‘टिकट’ पठाइसकिएको मुख्यसचिव पौडेलले बताउनुभयो । बाँकी स्थानीय तहमा पार्टीबाट चुनाव लड्ने उम्मेदवारको अन्तिम नामावली सोमबार बिहानसम्म तयार पार्ने निर्णय पनि आज भएको छ ।

बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, कोषाध्यक्ष सीतादेवी यादवलगायत पूर्वपदाधिकारीको पनि उपस्थिति थियो ।