Banner News

पाँच दलीय गठबन्धन चुनावसम्म कायम राख्छौं : अध्यक्ष नेपाल



धनगढी, ११ कार्तिक । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धन आगामी निर्वाचनसम्मै कायम राख्ने बताएका छन् ।

आज धनगढी विमानस्थलमा समाजवादी प्रेस संगठन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले जनताको चाहाना पूरा गर्नका निमित्त आफूहरू सरकारमा सहभागी भएको बताएका हुन् ।

उनले भने, ‘चुनावी तयारीमा जुट्नुपर्ने बेला भएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको पाँच दलीय गठबन्धन चुनावसम्मै कायम राख्ने धारणा बनाएका छौं ।’

उनले एकीकृत समाजवादी पार्टीले चुनावलाई लक्षित गरेर पार्टीको संगठन निर्माण तथा सदस्यता वितरणलाई तीव्रता दिइरहेको पनि बताए ।