राजनीति

सरकार मुलुकभर विद्युतीकरणको योजनामा : मन्त्री भुसाल



काठमाडौँ, १२ कार्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सरकार मुलुकभर विद्युतीकरणको योजनामा जुटेको बताएकी छन् ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले २५औँ वार्षिकोत्सवको अवसर पारेर आयोजना गरेको फुटसल प्रतियोगिताको उद्घाटन गर्दै उनले सरकारको विद्युतीकरणको योजनालाई सफल बनाउन केन्द्रको ठूलो भूमिका रहेको बताइन् ।

राष्ट्रिय प्रसारणलाइन नपुगेका दूरदराजका जनतामा केन्द्रमार्फत ऊर्जामा पहुँच पुगको जनाउँदै उनले आगामी दिनमा पनि आफूलाई परिमार्जित ढंगबाट अघि बढाउन केन्द्रलाई निर्देशन दिइन् ।

खेलले शारीरिक तन्दुरुस्तीलाई मात्र नभई नागरिकलाई अनुशासित समेत बनाउन सहयोग गर्ने उल्लेख गर्दै उनले मन्त्रालय मातहतका निकायबीच हुने यस्ता प्रतियोगिताले आपसी सहकार्य र भावनात्मक एकता बढाउने विश्वास व्यक्त गरिन् ।

प्रतियोगितामा ऊर्जा मन्त्रालय मातहतका आयोग, विभाग, निकायबाट १६ टोलीको सहभागिता रहेको केन्द्रले जनाएको छ । वार्षिकोत्सवको अवसर पारेर सप्ताहव्यापी रूपमा विविध कार्यक्रम आयोजना गरिएको केन्द्रले जनाएको छ । केन्द्रले विद्युतीय सवारीको प्रयोगमा प्रोत्साहित गर्न शनिबार बिहान विद्युतीय सवारीसाधनको ¥यालीको आयोजना गरेको छ । रासस