थबाङ, १४ कार्तिक । माओवादी आन्दोलनको ‘आधार क्षेत्र’ थबाङका बासिन्दाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई थबाङ भ्रमणको निम्तो दिएका छन्।
थबाङ गाउँपालिकास्तरीय अधिवेशनमा प्रमुख अतिथिका रुपमा पूर्वप्रधानमन्त्री ओलीलाई लैजाने पहल थालेका हुन्। थबाङवासी एमाले नेताहरूले आफ्ना अध्यक्षलाई ‘कम्युनिष्ट गाउँ’को भ्रमण गराउन चाहेका हुन्। खामभाषीको ऐतिहासिक गाउँ थबाङ पञ्चायतकालदेखि नै ‘कम्युनिष्ट किल्ला’ का रुपमा चिनिन्छ। १० वर्षे माओवादी सशस्त्र द्वन्द्वपछि सो क्षेत्र माओवादी पार्टीको ‘आधारक्षेत्र’का रुपमा परिचित थियो। एमाले रोल्पा जिल्ला इञ्चार्ज भएपछि नवीन रोकामगरले अहिले थबाङमा एमालेको प्रभाव बढाउन चाहेका छन्।
एमाले केन्द्रीय सदस्यसमेत रहेका रोकामगरले थबाङ पूर्वप्रधानमन्त्री ओलीलाई स्वागत गर्न आतुर रहेको बताए। उनले भने, ‘भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको नक्सामा प्रकाशित गर्ने राष्ट्रवादी नेतालाई थबाङमा स्वागत छ। थबाङ सच्चा राष्ट्रवादी र क्रान्तिकारी कम्युनिष्टहरूको भूमि हो।’ भरोसा गरेका नेताहरूबाटै शहीद, जनता र देशप्रति घात भएकोप्रति केन्द्रीय सदस्य रोकामगरले दुखेको पोखे। उनले भने, ‘जनयुद्धका योद्धा र शहीदहरूको सपनालाई साकार पर्न नयाँ मोर्चा, विचार, योजना, जोश र उचाइका साथ नयाँ कदम अघि बढाएका छौँ। त्यसैले थबाङ व्युँझनै पर्छ। ‘जनयुद्ध’ लडेका योद्धाहरूको पसिना र जीवनप्रति घात भएको छ।’
एमाले र माओवादी केन्द्रको एकीकरणलाई सर्वोच्च अदालतले ०७७ फागुन २३ गते अवैधानिक भनेसँगै रोल्पा माओवादी केन्द्रका थुप्रै प्रभावशाली स्थानीय नेताहरुले एमाले नै रोजेका छन्। नेकपा विघटनपछि बनेको वर्तमान एमालेभित्र माओवादी सशस्त्र द्वन्द्वका एक जना शीर्षनेता रामबहादुर थापा ‘बादल’का नेतृत्वमा साविक माओवादीकेन्द्रका नेता–कार्यकर्ताको ठूलो समूहसमेत रहेको छ। एमाले रोज्ने रोल्पाली पूर्वमाओवादी नेताहरुमा केन्द्रीय सदस्यदेखि वडा कमिटी सदस्यसम्म रहेका छन्।
बदलिँदो समयसँगै थबाङमा पनि बहुदलीय प्रतिस्पर्धात्मक खुला राजनीति र एमालेको जनमुखी विचारधाराको साख फैलिएको एमाले लुम्बिनी प्रदेश सदस्य यमुना रोकामगरले बताइन्। अर्का प्रदेश सदस्य गंगाराम बुढामगरको धारणा पनि उस्तै छ। यमुना र गंगारामले पनि एमाले अध्यक्ष ओलीलाई ऐतिहासिक गाउँ थबाङमा स्वागत गर्न आफूहरू आतुर रहेको बताए। यमुनाले भनिन्, ‘एकअर्कामा हातेमालो गर्दै एमालेको संगठन विस्तारमा लागौँ। ‘प्रचण्ड’ले जनयुद्ध लडेका योद्धा र १७ हजार शहीदको रगतमाथि खेलवाड गरे। शहीदका सपना, घाइते–अपाङ्गमाथि मल्हमपट्टी काम नेकपा एमालेले लगाउने छ।’
नेपाली राजनीतिका गद्दारहरूलाई थबाङबासीले चिनुपर्ने गंगारामको भनाइ छ। उनले भने, ‘जसले भारतको डिजाइनमा उसको लागि ‘कम्फर्टेबल’ सरकार बनायो, जसले थबाङ्गी चेली सुनसरा र ललित रोकाजस्तालाई जिउँदै आँगोमा जलायो। त्यहीँ देउवा सरकार र त्यहीँ कांग्रेस सरकारको पाउमा शासन बुझाउनेहरू गद्दार हुन्। थबाङ्गी जनताले फैसला गर्नुपर्छ– हामी यही भन्छौँ।’
रामबहादुर थापा ‘बादल’को थबाङसँग भिन्नै सम्बन्ध छ। बादल सशस्त्र द्वन्द्वको समयमा कम्तिमा ६ महिना थबाङमै बसे। माओवादीको ‘सिज’ ९‘सिस्ने–जलजला’० अभियानको नेतृत्वसमेत उनैको अगुवाइमा भएको थियो। त्यसकारण पनि थबाङीहरू बादलसँग पूर्ण रुपमा परिचित छन्। बादलले नेतृत्व गरेको ‘सिज’ अभियानले नै माओवादी आन्दोलनलाई पश्चिम क्षेत्रमा थप बलियो बनाएको थबाङ्गीहरूको विश्लेषण छ। थबाङकै दीपेन्द्र विश्वकर्मा तत्कालीन माओवादी युद्धकालीन कार्यकर्ता हुन्। उनी अहिले एमालेमा सक्रिय छन्।
विश्वकर्मालाई विगतको आफ्नो पार्टी माओवादीलाई सत्तामा पुर्याए पनि त्यसपछि झाँगिएको नातावाद–कृपावादले निकै चित्त दुखाएको छ। उनले भने, ‘थबाङलाई धेरै पार्टीहरूले अनेक किसिमबाट प्रयोग गरे। त्यो केवल स्वार्थका लागि मात्रै रहेछ, बल्ल महसुस भयो। माओवादी पार्टीलाई थबाङी जनताले भोट दिएर सत्ता पुर्याए तर उनीहरू आफ्नो नातेदार, इष्टमित्र र भरौटेहरू मात्रै पोस्ने काम गरे। थबाङलाई उनीहरू त्यो शैली बिल्कुल चित्त बुझेको छैन। प्रचण्डले हामीलाई प्रयोग मात्रै गरे। त्यही कारण पनि थबाङले एमालेलाई रोजेको छ।’
केन्द्रीय सदस्य रोकामगर थबाङ गाउँपालिकाका मगर खामभाषीसमेत हुन्। अन्य नेताहरूका अनुसार थबाङ क्षेत्रमा रोकामगरको राम्रो प्रभाव छ। थवाङीहरुले माओवादीकेन्द्रलाई रुचाउन छाडेको एक दशक नाघिसकेको छ। ०७० सालको संविधानसभा निर्वाचन (दोस्रो)को प्रचारका लागि थबाङ आएकी माओवादीकी तत्कालीन उम्मेदवार ओनसरी घर्तीलाई थबाङ्गवासीले उल्टो दमाह बजाएर बहिस्कार गरेका थिए। ओनसरी त्यसपछि थबाङमा बस्दा पनि नबसी फर्किएकी थिइन्। उक्त निर्वाचनमा थबाङले ‘शुन्य मतदान’ गर्यो। माओवादीमा लागेकामध्ये अधिकांश विप्लव समूहको पक्षमा लागेका थिए। त्यो चुनाव पूरै बहिकार भएको थियो तर २०७४ सालको स्थानीय निर्वाचनमा भने थबाङले सहभागिता जनायो। ‘विद्रोही थबाङ’को पुरानो चिनारी बदल्दै अब त्यहीँ थबाङले एमालेलाई ‘ग्रिन सिग्नल’ दिएको छ। बादलको एमाले रोजाइपछि जनयुद्धकालीन माओवादी नेता–कार्यकर्ताहरुको ठूलो समूह एमालेको पक्षमा उभिएको छ। नेपाली कांग्रेसले भने थबाङ गाउँपालिकाको अधिवेशन सदुरमुकाम लिबाङमै भर्खरै सम्पन्न गरेको छ।
एमालेको थबाङ अधिवेशन सफल पार्न एमाले लुम्बिनी प्रदेश सदस्य यमुना रोकामगर, गंगारामलगायत अन्य नेताहरूको भूमिकासमेत कम छैन। उनीहरूको सामूहिक प्रयासबाट नेकपा एमालेले थबाङमा सानदार कार्यक्रम सम्पन्न गरेको जिल्लास्तरीय नेताहरू बताउँछन्।










प्रतिक्रिया दिनुहोस्