काठमाडौँ, १६ कार्तिक । सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले छिटोभन्दा छिटो पदबाट राजीनामा दिएमात्रै सम्मानजनक बर्हिगमन हुने पनि स्पष्ट पारेका छन ।
नेपाली कांग्रेस जिल्ला कार्य समिति मकवानपुरले आज बिहान हेटौँडामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले प्रधानन्यायाधीश जबराले केही दिनअघि आफ्नो सम्मानजनक बर्हिगमनको कुरा गरेको उल्लेख गर्दै त्यसका लागि छिटो राजीनामा दिनुपर्ने धारणा राखेका छन ।
उनले भने, ‘अरू संस्था त ध्वस्त भए, भए । देशको एउटा नागरिकको न्यायको अन्तिम मन्दिर आज सर्वोच्च अदालत ध्वस्त भइरहेको छ । सर्वोच्च अदालतको यो हाल भइरहेको छ । प्रधानन्यायाधीशले अस्ति मात्रै भन्नुभयो–ल ल म छोड्न त छोड्छु तर मलाई सम्मानजनक बर्हिगमनका लागि मौका दिनुहोस् । मैले त हिजो भन्दिए– जति छिटो छोड्नु हुन्छ, त्यति सम्मानजनक । जति ढिलो छोड्नु हुन्छ, त्यति असम्मानजनक हुन्छ तपाईँको । किनभने एकपछि अर्को सेटिङका प्रश्न खोतलिँदै आउँछन् । सेटिङ गर्नुभएको क–कसले ? यो देशका प्रधानमन्त्रीहरू सेटिङ गर्ने अदालतसित, प्रधानन्यायाधीशसँग सेटिङ गर्ने । तँलाई यो मन्त्री दिन्छु, यो राजदूत दिन्छु, आयुक्त दिन्छु, मेरो कुरा मान्, मैले संवैधानिक परिषद्लाई ध्वस्त पारेको पनि मान् । संविधानको आत्मामाथि प्रहार गरेको साक्षी बसिदे प्रधानन्यायाधीश भनेर यो सेटिङ गरेको हो कि होइन ? आज सर्वोच्च अदालतको के हालत भइरहेको छ ? यो अवस्थामा देश किन पुग्यो ?’










प्रतिक्रिया दिनुहोस्