राजनीति

नेता बस्नेतको चेतावनीः ‘अवैध मन्त्रीको झण्डा हल्लाउँदै भक्तपुरमा आएर ठूलो कुरा नगर्नुस्’



भक्तपुर, १७ कार्तिक । नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले वर्तमान परमादेशबाट बनेको पाँच दलीय गठबन्धनका मन्त्रीहरु अबैध भएको दावी गर्नुभयो ।

नेकपा एमाले मध्यपुर नगरपालिका वडा नं. १ कमिटीद्वारा आज २०७८ सालको शुभ दिपावली, नेपाल संवत् ११४२ न्हुदँ तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेता बस्नेतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा तथा माधव नेपालले नेतृत्व गरेको नेकपा समाजवादी पार्टीले भक्तपुरमा आएर एमालेको विरुद्धमा जस्तोसुकै आरोप लगाएपनि जनताले निर्वाचनमा हिसाव किताव गर्ने चेतावनी दिनुभयो । परमादेशबाट बनेको मन्त्रीहरु अवैध भएको उल्लेख गर्दै नेता बस्नेतले अवैधमन्त्रीको झण्डा हल्लाएर भक्तपुरमा आएर जनादेशबाट प्राप्त एमाले र महेश बस्नेतको विरुद्धमा भक्तपुर आएर ठूला कुरा नगर्न चेतावनी दिनुभयो । केही दिन अघि नेकपा एसका स्थायी कमिटी सदस्य, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले भक्तपुरमा महेश बस्नेतले एक्लै चुनाव लडेर देखाउन चुनौति दिनुभएको थियो । त्यस्तै प्रचण्डले नेता बस्नेतलाई भक्तपुरबाट लखेट्नुपर्ने भन्दै अभिव्यक्ति दिनुभएको थियो । सोही प्रसंगलाई लक्षीत गर्दै नेता बस्नेतले भक्तपुरमा आएर प्रचण्ड तथा माधव नेपाल नेतृत्वका पार्टीका नेताले ठूलो कुरा नगर्न नेतावनी दिनुभएको हो ।

जनताको जनमतबाट सरकारको नेतृत्व गरेको एमालेलाई अदालतको सेटिङका भरमा केही समय प्रतिपक्षमा बस्नु परेको उल्लेख गर्नुभयो । आगामी निर्वाचन पछि एमाले सानदार बहुमतका साथ सरकारको नेतृत्व गरी मुलुकको विकास र समृद्धिको अभियानलाई तिव्र गतिमा अगाडी बढाउने समेत उहाँले दावी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘जनताको जनादेश/मनबाट मन्त्रीको झण्डा हल्लाउनुस्, अवैध झण्डा हल्लाएर भक्तपुरमा आएर ठूलो कुरा नगर्नुस् । स्याल बुढो भयो भने भिर खोज्छ भने जस्तै प्रचण्ड र माधव बुढो भएका छन् । अब भरि खोज्दै एमालेको विरोध गर्दै आफ्नो राजनीतिको विँढो थाम्ने प्रयास गर्दैछन् । प्रचण्ड एमाले तथा भक्तपुबाट महेश बस्नेतलाई लखेट्ने भने भाषण गर्छन्, माओवादीका अधिकांश कार्यकर्ता एमालेमा प्रवेश गर्छन् । त्यसैले प्रचण्डले सत्तो सराप गरेर आफै समाप्त हुने हो ।’

कांग्रेसका नेता तथा कार्यकर्ताले दिउँसै भट्टी पसलमा बसेर एमाले विरोध गर्ने गरेको भन्दै आक्रोस जनाउँदै नेता बस्नेतले कांग्रेसका नेता तथा कार्यकर्ताले झल्लु र फन्टुस भएर एमालेलाई गाली नगर्न समेत चेतावनी दिनुभयो । सिद्धान्त र जनताको काम गर्ने प्रतिष्पर्धा गरेर अगाडी बढ्न कांग्रेसलाई चुनौति समेत उहाँले दिनुभयो । ‘कांग्रेसका नेता तथा कार्यकर्ताले दिउँसै भट्टीमा बसेर एमालेलाई विरोध गर्छन्, झल्लु र फन्टुस भएर एमालेलाई गाली गर्ने होइन’ उहाँले भननुभयो, ‘सिद्धान्त र जनताको काम गर्ने प्रतिष्पर्धा गरेर अगाडी बढ्न कांग्रेसलाई चुनौति छ ।’

अब भक्तपुरलाई राजनीतिका हब बनाउने उल्लेख गर्दै नेता बस्नेतले भक्तपुरमा एमालेको नेतृत्व आएसँगै चार वर्षमा चार वर्षमा १६ अर्व बजेट ल्याई भक्तपुरको विकासमा स्वर्णीम युगको शुरुवात गरेको बताउनुभयो । विकासमा एकता, राजनीतिमा प्रतिष्पर्धा भन्ने आफ्नो र एमालेको नीति भएको तर कांग्रेस, माओवादीले विकासको नाम पनि सुन्न नमान्ने गरेको उल्लेख गर्दै नेता बस्नेतले भक्तपुरमा कांग्रेसका नेता तथा जनप्रतिनिधिको काम भनेको नै विकासको विरोध र अवरोधमात्र भएको भन्दै आक्रोस जनाउनुभयो ।

सार्वजनिक जग्गालाई कब्जा गरेर विकास गर्न नदिने कांग्रेस भएको सविस्तार प्रस्तुत गर्दै नेता बस्नेतले भक्तपुरमा कांग्रेसले विपी, गणेशमान सिंहको नाममा भ्रष्टाचार तथा कमाइखाने भाँडोको अखडा बनाउने गरेको आरोप लगाउनुभयो । सुवर्णेश्वर, जंगललगायतका ठाउँहरुमा विभिन्न बहानामा जग्गा कब्जा गरेको उल्लेख गर्दै नेता बस्नेतले कांग्रेसले नेताको नाममा बनाउने पार्क, नेताको नाममा कमाइखाने भाँडो बनाएको बताउनुभयो । जगन्नाथ मन्त्री हुँदा ५४ रोपनी आफ्नो श्रीमतीको नाममा हुनमन्ते नदीको जग्गा कब्जा गरेकाले हनुमन्ते करिडोर निर्माणमा समस्या भएको उल्लेख गर्दै नेता बस्नेतले मनोहरा करिडोरमा ६ जना व्यक्तिको नाममा लगी ४५ रोपनी जग्गा कब्जा गरेपनि प्रशासनको सहयोगमा उक्त स्थानलाई सरकारी बनाउन सफल भएको जानकारी गराउनुभयो ।

जनताको दुःखमा कांग्रेस भाग्ने गरेको उल्लेख गर्दै नेता बस्नेतले भननुभयो, ‘जनतालाई दुख पर्दा कांग्रेसका जनप्रतिनिधि पुच्चछर लुकाएर भाग्छन् । सुकुम्वासी वस्ती लगायतका ठाउँहरुमा कोरोना तथा अन्य प्राकृतिक विपतको कारण जनताको दुःखमा एमालेका जनप्रतिनिधिले सहयोग गर्दा समेत कांग्रेसले प्रतिरोध गर्न खोजे ।’

६ महिनामा हनुमन्ते करिडोर निर्माण सम्पन्न हुने दावी गर्दै नेता बस्नेतले करिडोर निर्माणका क्रममा जग्गा एकिकरण आयोजनाको माध्यमबाट जनताको समस्या समाधान हुनमा विश्वस्त हुन आग्रह समेत गर्नुभयो । विकासका क्रममा जग्गा प्लानिङ गर्दा घर नक्सा पास गर्न भएका समस्यालाई तत्काल नगरपालिकाले समाधान गर्ने प्रतिवद्धता जनाउँदै नेता बस्नेतले वर्तमान सरकाले मेलम्चीको पानी ल्याउन सक्ने सम्भावना नरहेता पनि आगामी निर्वाचन पछि एमालेको सरकार बन्ने र उक्त एमालेको सरकारले काठमाडौँ उपत्यकामा मेलम्चीको खानेपानी व्यवस्था गर्ने समेत बताउनुभयो ।

देशभर १४ सयभन्दा बढी सडकहरुलाई खारेज गरी जनताको विसकार प्रतिको चाहनालाई अन्धकारको बाटोमा वर्तमान गठबन्धनको सरकार लागेको उल्लेख गर्दै नेता बस्नेतले विकास र समृद्धिको बाधक वर्तमान गठबन्धनको सरकार भएकाले त्यसलाई जनताले प्रतिरोध गर्नुपर्ने बताउनुभयो । एमालेको नेतृत्वमा कोटेश्वर–जडिबुटीको जामलाई अन्त्य गर्न सडकको चौडा विस्तार, सुरुङमार्ग बनाउने प्रकृया अगाडी बढेको जसमा सडकको काम अन्तिम चरणमा पुगेको उल्लेख गर्दै नेता बस्नेतले विकासमा चार वर्ष भक्तपुरमा स्वर्णीम काल भएको दावी गर्नुभयो । त्यस्तै सुकुम्वासी, भूमिहिनको व्यवस्थापन गर्न नयाँ योजनाका साथ अगाडी बढे पनि वर्तमान सरकारले सुकुम्वासी समस्या समाधान आयोग विघटन गरी जनताको बाधक बनेको समेत उहाँले उल्लेख गर्नुभयो ।