Banner News

एमालेको घोषणापत्र सार्वजनिक प्रतिव्यक्ति आय १० वर्षमा ५ हजार डलरभन्दा माथि



काठमाडौं १८ बैशाख । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले आफ्नो महत्वाकांक्षी घोषणापत्र सार्वजनिक गरेको छ ।

सोमबार पार्टी कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गर्दै एमालेले ५२ पृष्ठ लामो महत्वाकांक्षी घोषणापत्र सार्वजनिक गरेको हो । एमालेको घोषणापत्रमा १० वर्षभित्र १५ हजार मेगावाट विद्युत् उत्पादन गर्नेदेखि प्रतिव्यक्ति आय ५ हजार अमेरिकी डलर पुर्याउनेसम्मको छ । ‘नेपाली जनताको सपनाः समृद्धि र समाजवादको स्थापना’ भन्ने लक्ष्यका साथ एमालेले सार्वजनिक गरेको घोषणापत्रका मुख्य बुँदा यस्ता छन् ।

१० वर्षभित्र १५ हजार मेगावाट विद्युत्

एमालेले आफ्नो घोषणापत्रमा १० वर्षभित्र १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने बताएको छ । आगामी १० वर्षभित्र नदी प्रवाह, जलाशययुक्त परियोजना तथा जैविक, भूतापीय, सौर्य र अन्य वैकल्पिक माध्यमबाट समेत गरी १५ हजार मेगावाट थप विद्युत् उत्पादन गरिने घोषणापत्रमा उल्लेख छ । बहुप्रतिक्षित कर्णाली चिसापानी बहुउद्देश्यीय परियोजना अगाडि बढाइने पनि घोषणापत्रमा भनिएको छ । ऊर्जाकै माध्यमबाट उत्पादन बढाई आर्थिक विकासमा केन्द्रित गर्ने गरी देशको सम्पूर्ण क्षमता परिचालन गरिने भनिएको छ । र, पटकपटकको नाकाबन्दी, हस्तक्षेप र अपमानबाट पाठ सिक्दै सबल र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा सम्पूर्ण शक्ति केन्द्रित गर्ने एमालेले आफ्नो घोषणापत्रमा उल्लेख गरेको छ ।

प्रतिव्यक्ति आय १० वर्षमा ५ हजार डलरभन्दा माथि

‘नेपाली जनताको सपनाः समृद्धि र समाजवादको स्थापना’को लक्ष्य भन्दै सार्वजनिक गरिएको घोषणापत्रमा आगामी १० वर्षभित्र प्रतिव्यक्ति आय ५ हजार अमेरिकी डलरभन्दा माथि पुर्याउने लक्ष्य लिइएको छ । आगामी पाँच वर्षभित्र नेपाललाई अल्पविकसित मुलुकको तालिकाबाट विकासशील मुलुकमा पुर्याउने पनि एमालेको लक्ष्य छ । १० वर्षभित्र गरिब मुलुकबाट मध्यम आय भएको मुलुकमा रुपान्तरण गर्ने र २५ वर्षमा समुन्नत राष्ट्र बनाउने एमालेको महत्वाकांक्षी योजना छ ।

यद्यपि आर्थिक वृद्धिदर नेपालीको विगत १० वर्षको प्रगति हेर्ने हो भनेचाहिँ उदेकलाग्दो तथ्यांक छ । सन् २००७ मा नेपालीको प्रतिव्यक्ति आय ५ सय २८ अमेरिकी डलर थियो । त्यसको ९ वर्षपछि २०१६ को अन्त्यसम्ममा नेपालीहरुको प्रतिव्यक्ति आय ६ सय ८९ दशमलब ५ अमेरिकी डलर मात्रै पुगेको छ । यसलाई नेपाली रुपैयाँमा रुपान्तरण गर्ने हो भने नेपालीको प्रतिव्यक्ति प्रतिवर्ष औसत आम्दानी करिब ७५ हजार रुपैयाँ मात्रै हो । तर १० वर्षमा प्रतिव्यक्ति आम्दानी ५ हजार अमेरिकी डलर पुर्याउने एमालेको लक्ष्य छ । जुन रकमलाई नेपाली रुपैयाँमा रुपान्तरण गर्ने हो भने ५ लाख रुपैयाँभन्दा बढी हुन्छ ।

१० वर्षमा ५० लाख पर्यटक भित्र्याइने

आर्थिक प्रगतिको महत्वाकांक्षी लक्ष्य प्रस्तुत गर्दै गर्दा एमालेले १० वर्षमा ५० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएको छ । आर्थिक प्रगतिको लक्ष्य भेट्टाउन पर्यटन महत्वपूर्ण क्षेत्र रहेको भन्दै १० वर्षमा ५० लाख पर्यटक नेपाल भित्राउने लक्ष्य लिइएको हो । अहिले वार्षिक करिब आठ लाखको हाराहारीमा विदेशी पर्यटकले नेपालको भ्रमण गर्ने गरेका छन् । एमालेको यो लक्ष्य त्यति टाढा छैन ।

सामाजिक सुरक्षा भत्ता मासिक ५ हजार

स्थानीय तहको निर्वाचनलाई केन्द्रित गर्दै एमालेले जारी गरेको आफ्नो घोषणापत्रमा सामाजिक सुरक्षा भत्तालाई मासिक ५ हजार पुर्याउने उल्लेख गरेको छ । कम्युनिष्टकै पहिलो प्रधानमन्त्री मनमोहन अधिकारीको पालादेखि सुरु भएको सामाजिक सुरक्षा भत्ता हाल मासिक १ हजार मात्रै छ । तर एमालेले पनि आफ्नो घोषणापत्रमा सामाजिक सुरक्षा भत्ता १ हजारबाट बढाएर मासिक ५ हजार पुर्याउने उल्लेख गरेको छ ।

भारत र चीनसँगको सम्बन्धलाई नयाँ उचाइ दिइने

एमालेले आफ्नो घोषणापत्रमा चीनसँग गरिएका पारवहन र यातायात सम्झौता तथा रेल्वे, सडक यातायात, पेट्रोलियम, ऊर्जा तथा सञ्चारसम्बन्धी समझदारीको कार्यान्वयन गरिने उल्लेख छ । भारत र चीन दुवै देशसँगको आर्थिक सम्बन्धलाई नयाँ उचाइ दिने पनि घोषणापत्रमा उल्लेख छ ।