कैलाली, २२ कार्तिक । कैलालीको चिसापानीमा रहेको इलाका प्रहरी कार्यालयले हिजो आइतवार राति रक्सी खाएर हो–हल्ला गर्दै हिँडेका नेपाली सेनाका एक मेजरलाई पक्राउ गरेको छ ।
प्रहरीले लम्कीचुहा नगरपालिका ३ गोराङ्गेमा रहेको सुदूरपश्चिम पृतना तालिम शिक्षालयका मेजर अशोकजंग शाहीलाई हतियारसहित पक्राउ गरेको हो । रक्सीको नसामा लठ्ठिएका मेजर शाहीले स्थानीयवासीलाई गालीगलौज गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । उनी रातिको समयमा स्थानीय एक होटलमा छिरेका थिए । उनले होटल सञ्चालकलाई गालीगलौज गर्नुका साथै हातपातको प्रयाससमेत गरेका थिए । होटल सञ्चालक हर्क रावलले मेजर शाही रक्सीले लठ्ठिएर आफ्नो होटलभित्र छिरेको बताउनुभयो ।
होटलबाट निस्केका मेजर शाही शिक्षालय पुगेर एक जना ड्युटीमा रहेका सैनिकलाई लिएर फेरि झन्डै चार किलोमिटर टाढा रहेको चिसापानी बजार पुगेर सर्वसाधारणलाई गालीगलौज गर्दै हिँडेको र केही व्यक्तिलाई हातपातसमेत गरेका स्थानीयवासीले बताएका छन् । पक्राउ परेका मेजर शाहीले रक्सीको नसाले मात्तिएर गल्ती गरेको भन्दै माफी मागेका छन् । यस्तै स्थानीयवासीले ढुङ्गामुढाबाट क्षति पुगेको प्रहरी कार्यालयको मर्मत गरिदिने बताएका छन् ।
प्रहरीले मेजर शाहीलाई पत्रसहित शिक्षालयमा पठाएको छ । घटनाका बारेमा छानबिन गर्न सुर्खेतमा रहेको पृतनालयले एक टोली चिसापानी पठाएको बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्