समाचार

५० लाख ठगी गरेको आरोपमा एक पक्राउ



काठमाडौँ, २५ कार्तिक । ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाले भारतको चेन्नाई घर भई काठमाडौँ महानगरपालिका वडा नम्बर ४ बालुवाटार बस्ने ४४ वर्षीय शिवम विरूमुथु चेटियारलाई पक्राउ गरेको हो ।

उनलाई प्रहरीले गत मंगलबार पक्राउ गरेको महाशाखाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए । चेटियारले आफू मेडिकल व्यवसाय गर्ने, मणिपाल अस्पताल खरिद गर्ने भारतीय शेयर होल्डरहरूसँग आफ्नो कुरा भएको र अस्पतालमा पार्टनर बनाइदिने प्रलोभनमा पारी विभिन्न मानिसको विश्वास जितेको कोइरालाले बताए।

त्योसँगै उनले नेपालका विभिन्न बैंक तथा वित्तिय संस्थामा ठूलो परिमाणमा आफ्नो नाममा संस्थापक शेयर रहेको भन्दै झूटा कागजात तथा विवरण देखाएर ठगी गरेको खुलेको छ । प्रहरीले उनीबाट विभिन्न संस्थाको परिचयपत्र पनि बरामद गरेको छ। त्यसमध्ये एक अन्तरार्ष्ट्रिय रेडक्रस कमिटीको हो ।

उनले आफू त्यस संस्थाको डाइरेक्टर हुँ र सरकारका उच्च अधिकारीसँग समेत निकट सम्बन्ध रहेको भन्दै ठगी गरेको भन्दै महाशाखामा जाहेरी परेको थियो। सोही जाहेरीको आधारमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । उनलाई बालुवाटारबाट पक्राउ गरी प्रारम्भिक अनुसन्धान गर्दा विभिन्न बहानामा विभिन्न व्यक्तिबाट जम्मा ५० लाख रुपैयाँ ठगी गरिसकेको देखिन आएको महाशाखाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताए ।