काठमाडौँ, २६ कार्तिक । नेपाल बार एशोसियसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउँदै मुलगेटमा धर्ना दिएको छ ।
बारका पदाधिकारीहरुलाई सर्वोच्च अदालत परिसरमै प्रहरी हस्तक्षेप गरेको विरोधमा आज कानुन व्यवसायीहरु धर्नामा बसेका हुन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने तयारी नेपाल बार एशोसियसनले गरेको छ ।
कानुन व्यवसायीहरु सर्वोच्च अदालत परिसरभित्र प्रवेश गर्ने नेपाल बार एशोसिएसन तर्फको गेट बन्द गरिएको छ । महान्यायाधीवक्ताको कार्यालयतर्फबाट सर्वोच्च प्रवेश गर्ने अर्को गेट पनि बन्द छ । सर्वोच्च अदालतभित्रको सोधपुछ कक्ष लगायतका स्थान वरपर पनि प्रहरी परिचालन गरिएको देखिन्छ ।
सेवाग्राही र अन्य व्यक्तिहरु प्रवेश गर्ने माइतीघर–सिंहदरबार पश्चिम गेट सडकखण्डमा पर्ने गेट अगाडि सुरक्षाकर्मीहरुको तैनाथी बढाइएको छ ।
तर त्यसअघि नै सर्वोच्च प्रशासनले अदालतपरिसरमा कडा सुरक्षा व्यवस्था गरेको छ । अहिले सर्वोच्चको गेटमा ठूलो संख्यामा प्रहरी उपस्थित गराइएको छ । नेपाल बार एशोसियसनले अदालत परिसरमै आफूहरुमाथि दमन गरेको भन्दै आज प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउने निर्णय गरेको थियो ।










प्रतिक्रिया दिनुहोस्