Banner News

सम्झौता अनुसार निर्माण सम्पन्न नगर्ने चार कम्पनी कालो सूचीमा



काठमाडौँ, १ मंसिर । सम्झौताअनुसार निर्माण सम्पन्न नगरेको जनाउँदै सरकारले विभिन्न चार कम्पनीलाई कालो सूचीमा राखेको छ ।

आजदेखि लागू हुने गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय मुजेलिया जनकपुरका सिफारिसमा काठमाण्डौको नयाँबानेश्वरमा रहेको भैरव कन्स्ट्रक्शन कम्पनीलाई दुई वर्षका लागि कालो सूचीमा राख्ने निर्णय गरेको हो ।

यस्तै, प्रहरी प्रधान कार्यालयको सिफारिसमा त्रिपुरेश्वरमा रहेको न्यू लक्ष्मी इण्डस्ट्रिज एण्ड सप्लायर्स, बनेपा नगरपालिका नगर कार्यापालिकाको सिफारिसमा ललितपुरको सापकोटा सप्लायर्स एण्ड निर्माण र शिवालय गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय जाजरकोटको सिफारिसमा काठमाण्डौ बानेश्वरको लार्ज बास्केट कम्पनीलाई एकरएक वर्षका लागि कालो सूचीमा परेको छ ।

सार्वजनिक खरिद ऐनका अनुसार कालो सूचीमा परेका कम्पनीले तोकिएको अवधिसम्म सरकारी निकायको कुनै पनि खरिद तथा निर्माणका कार्यमा भाग लिन पाउने छैनन् । कालोसूचीमा राख्नुभन्दा अगाडि सम्झौता भएका कार्यमा भने निरन्तरता हुने कार्यालयले जनाएको छ ।