राजनीति

माओवादीले आज छ हजार ७४३ वडामा सम्मेलन गर्दै



काठमाडौँ, ४ मंसिर । नेकपा (माओवादी केन्द्र)ले आज देशभर नै वडा सम्मेलन गर्दैछ ।

माओवादीले ‘नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौँ’ भन्ने नारासहित सम्मेलन गर्ने भएको हो । समाजवादको यात्रा पूरा गर्न जनताको तहदेखि नै परिवर्तन जरुरी रहेको भन्दै माओवादीले त्यसका लागि वडा सम्मेलन गर्ने भएको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

वडा सम्मेलनका क्रममा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “पार्टीको वडा सम्मेलनमा कुनै पनि विभाजित मनोविज्ञान एवं मानसिकता नराखी एकताबद्ध भएर सर्वहारा वर्गप्रति निष्ठावान, जनताप्रति उत्तरदायी र समाजवादी क्रान्तिको यात्रामा लाग्नसक्ने नयाँ एवं रुपान्तरित पार्टी निर्माणमा लाग्न आम जनसमुदायमा हार्दिक अपिल गर्दछ ।”

माओवादीले यही मङ्सिर ११ गते सबै पालिकामा र मङ्सिर २५ गते सातै प्रदेशमा नेतृत्व चयनका लागि सम्मेलन गर्दैछ । आगामी पुस ११, १२ र १३ गते काठमाडौँमा राष्ट्रिय सम्मेलनको आयोजना गरिएको छ ।