मनोरञ्जन

संजिब पराजुलीको ‘सुनय’ सार्वजनिक



काठमाडौं, १९ वैशाख । गायक संजिब पराजुलीको डेब्यु एकल एल्बम ‘सुनय’ सार्वजनिक भएको छ । राजधानीमा आयोजित कार्यक्रममा गायक तथा संगीतकार शक्ति बल्लभ र संगीतकार राजु सिंहलगायतले संयुक्त रुपमा एल्बम विमोचन गरेका छन् ।

कार्यक्रममा गायक तथा संगीतकार बल्लभले सांगीतिक क्षेत्रमा नयाँ अनुहारको आगमन हुनु सुखद कुरा रहेको जनाउँदै गायक पराजुलीको स्वरमा सम्भावना भएको बताए । अर्का संगीतकार प्रवासमा बसेर संगीतमा सक्रिय भई एल्बम निकाल्नु आफैमा सकारात्मक कुरा रहेको जनाए । विराटनगर घर भएका पराजुली हाल अष्ट्रेलियामा बस्छन् ।

एल्बममा ‘झिलमिल झिलमिल’, ‘चाहनामा म तिम्रो’, ‘प्रेमरंग’, ‘बादलसँगै’ र ‘धुलो भई’ बोलका गरी ५ गीत छन् । गीतमा होमनाथ न्यौपाने, हर्कुलस बस्नेत, निष्प्रभ साजीको शब्द र दिपक भट्टराई, हेमन्त राना तथा हर्कुलस बस्नेतको संगीत छ । गायक पराजुलीलाई’ प्रेम रंग’ बोलको गीतमा बानिका प्रधानले साथ दिएकी छन् ।

सञ्जीवले गाएको ‘नाई मलाई थाहा छैन’ बोलको गीत श्रोताले रुचाएको गीतमा पर्दछ । यो गीतमा उनलाई टिका प्रसाईले स्वरमा साथ दिएकी छन् । यो गीतमा बाबा एजुकेसन कन्सल्टेन्सीको प्रायोजनमा अन्तर्राष्ट्रिय नृत्य प्रतियोगिताको पनि आयोजना गरिएको थियो ।

जसमा विजेता हुने प्रतियोगी ए स्क्वायर क्रिउका आयुष चौधरी र अभय चौधरीलाई कार्यक्रममा कन्सल्टेन्सीका तर्फबाट १ लाख रुपैंयाँ पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगिताको प्रतियोगी नागी डान्स सेन्टर इटहरीको भिडियोलाई विशेष सम्मान र प्रोत्साहन स्वरुप २५ हजार रुपैंयाँ प्रदान गरिएको थियो ।

त्यस्तै प्रतियोगिताको उत्कृष्ट १० मा पर्ने प्रतियोगीलाई आयोजकले प्रमाण पत्र दिएका थिए । पहिलो नेपाली तारामा समेत सहभागिता जनाईसकेका पराजुलीले झण्डै पाँच वर्ष संगीत विषयको अध्ययन पनि गरेका छन् ।