काठमाडौँ, २० मंसिर । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई चार वर्ष जेल सजाय तोकिएको छ ।
म्यानमारको सैनिक सरकारले नेतृ सूचीलाई सोमबार चार वर्ष जेल सजाय सुनाएको हो । सेनाविरुद्ध भडकाउ गतिविधि गरेको र कोभिड नियम उल्लंघन गरेको आरोपमा सुकीलाई म्यानमारको अदालतले चार वर्षको जेल सजायँ सुनाएको हो । उनी एक वर्षदेखि घरमै नजरबन्दमा थिइन् ।
उनीमाथि असन्तुष्ट समूहलाई उक्साएको र राष्ट्रिय विपद् कानूनअन्तर्गत सरकारले जारी गरेको कोभिड नियम उल्लंघन गरेको अभियोग लगाइएको छ । यसबाहेक उनीविरुद्ध ११ आरोप लगाइएको छ । सुकीले आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गर्दै आएकी छिन् । फेब्रुअरीमा सेनाले कू गर्नुअघि ७६ वर्षीया सुकीले नागरिक सरकारको नेतृत्व गरेकी थिइन् ।
निर्वाचनमा व्यापक धाँधली गरेको सेनाले आरोप लगाउँदै आएको छ । सरकार अपदस्थ गरेपछि उनलाई सेनाले घरमै नजरबन्दमा राखेर विभन्न आरोपमा मुद्दा लगाउँदै आएको थियो ।
प्रतिक्रिया दिनुहोस्