राजनीति

महालेखा परीक्षकमा नियुक्तिका लागि शर्मा सिफारिस



काठमाडौँ, २० वैशाख । संवैधानिक परिषद्ले महालेखा परीक्षकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव टङ्कमणि शर्मालाई नियुक्तिका लागि सिफारिस गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज बसेको परिषद्को बैठकले सचिव शर्मालाई सो पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार विगत केही समयदेखि खाली रहेको महालेखा परीक्षक पदमा नियुक्तिका लागि शर्मालाई सिफारिस गरिएको हो । व्यवस्थापिका–संसद्को सार्वजनिक सुनुवाइ समितिमा सुनुवाइका लागिसमेत परिषद्ले पत्र पठाएको छ ।

सार्वजनिक सुनुवाइपछि राष्ट्रपतिले महालेखा परीक्षकमा नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ । रासससँग संक्षिप्त कुराकानी गर्नुहुँदै महालेखा परीक्षकमा सिफारिस हुनुभएका प्रधानमन्त्री कार्यालयका सचिव शर्माले मुलुकमा वित्तीय अनुशासन कायम गर्न आफूले पहल गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो – वित्तीय अनुशानसन कायम गर्न मेरो तर्फबाट प्रयास रहनेछ । बेरुजु फछ्र्योटमा विशेष ध्यान दिनेछु । अर्थ मन्त्रालयका सहसचिवका रुपमा लामो समय काम गर्नुभएका शर्मा नेपालको आर्थिक क्षेत्रका जानकार हुनुहुन्छ । रासस