काठमाडौँ, ३ पौष । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मुलुकको हवाई उड्डयन क्षेत्रलाई सुरक्षित र सुदृढ तुल्याउन सरोकारवाला निकाय गम्भीर हुनुपर्ने बताए ।
वायुसेवा सञ्चालक सङ्घ, नेपाल (आयोन) को २१औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री आलेले हवाई क्षेत्रमा रहेका समस्या समाधान गर्दै सुरक्षित उडानको सुनिश्चितताका लागि सबै सरोकारवालाले मिलेर काम गर्नुपर्ने समेत बताए। पर्यटनमन्त्री आलेले विमानस्थललाई सुरक्षित बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले बजेट विनियोजन गरेको जानकारी दिए।
उनले निर्माणाधीन भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साता १० दिनभित्रै क्यालिब्रेसन फ्लाइट गरेर छिट्टै व्यावसायिक उडान सञ्चालन गरिने जानकारी दिए । अर्को निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पनि बढीमा आठ महिनाभित्र क्यालिब्रेसन उडान गरिने बताए।
वायुसेवा सङ्घको नयाँ कार्यसमिति चयन
निजी क्षेत्रका वायुसेवा कम्पनीहरुको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घ, नेपाल (आयोन) मा क्याप्टेन रामेश्वर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । सङ्घको सम्पन्न २१ औँ वार्षिक साधारणसभाबाट थापासहित पादाधिकारी तथा सदस्य सर्वसम्मतिका साथ नेतृत्व चयन गरिएको हो । सिम्रिक एयरका कार्यकारी अध्यक्ष क्याप्टेन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ ।
उपाध्यक्षमा यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनोज रिमाल चयन भएका छन् । द्वितीय उपाध्यक्षमा सौर्य एयरलाइन्सका गोपाल भट्टराई र तृतीय उपाध्यक्षमा अल्टिच्यूड एयरका निमानुरु शेर्पा चुनिएका छन् । संघको महासचिवमा समिट एयरका मनोज कार्की, सचिवमा मनाङ एयरका राजु न्यौपाने र कोषाध्यक्षमा बुद्ध एयरका रुपेश जोशी चयन भएका छन् ।
यस्तै सदस्यमा फुरु ग्याल्जे शेर्पा (हेली एभरेष्ट), सुवास अमात्य (प्रभु हेलिकप्टर), अनिल मानन्धर (श्री एयरलाइन्स), प्रज्वल थापा (गुण एयरलाइन्स), श्रीहरि कुँइकेल (कैलाश हेलिकप्टर सर्भिसेस) र बालकृष्ण पण्डित (एयर डाइनेष्टि हेलि सर्भिसेस) चयन भएको सङ्घले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्