राजनीति

एमसिसी फर्काउने पक्षमा छैनौं : अध्यक्ष दाहाल



काठमाडौँ, १० पौष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकाले प्रस्ताव गरेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजना फर्काउने पक्षमा आफूहरू नरहेको बताएका छन् ।

आज बसेको केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष दाहालले एमसिसी परियोजनामा रहेका बुँदाहरू बिना परिमार्जन अगाडि नजाने पनि बताए । उनले भने, ‘नेपालको राष्ट्रिय हित र जनताको भावनालाई केन्द्रविन्दुमा राखेर एमसिसी परियोजना अगाडि बढ्छ,’ ‘एमसिसीमा प्रश्नहरू उठेका छन्, त्यसको जवाफ दिएर परिमार्जन र संशोधन गरेर अगाडि लगिन्छ ।’

उनले एमसिसीको विषयमा पाँचदलीय गठबन्धनमा कुरा गरेको र संशोधनको निर्क्यौल गर्न बाँकी रहेको बताए । उनले एमसिसी कार्यदलले प्रारम्भिक कार्य सुरू गरेको भन्दै अनुदानमा आएको त्यो रकम पूर्वाधारमा लगानी गर्नुपर्ने बताए ।

उनले भने, ‘अमेरिकनसँग मेरो नियमितजस्तै सम्पर्क छ। दबाबबाट होइन, अस्पष्टताबाट होइन, समय लाग्न सक्छ। समयको बारेमा दबाब हुँदैन भनेर आग्रह गरिएको छ ।’