काठमाडौँ, १० पौष । नेकपा (एमाले)का नेता भीम रावलले एमसीसी संशोधन बिना नै संसद्बाट पारित गरिए त्यसले मुलुकलाई शक्ति राष्ट्रहरूको द्वन्द्व र संघर्षमा परिणत गर्ने चेतावनी दिनुभयो ।
शनिबार काठमाडौँमा आयोजित ‘अमेरिकी लोकतन्त्रको यथार्थ र एमसीसी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका नेता रावलले एससीसीको विरोधमा सशक्त ढंगले आवाज उठाउनुपर्ने बताउनुभयो । एमाले नेता रावलले एमसीसी संसद्बाट पारित भए मुलुकमा समानान्तर सरकार बन्ने खतरा रहेको औँल्याउँदै त्यसलाई रोक्न सबैले आवाज उठाउनुपर्ने तर्क गर्नुभयो ।
नेता रावललेभन्नुभयो, ‘हेर्नुस् यो राष्ट्रिय स्वाधीनता कुनै पनि सर्तसँग सट्टापट्टा गर्न सकिँदैन । गर्न मिल्दैन । यदि कोही पनि नेपाली देशभक्त छ भने एमसीसीको विरुद्धमा उभिनुपर्छ । यो सम्झौता संशोधन भयो भने सोचौँला भने त्यतिबेलै भनेका थिए । म तपाईहरुका अगाडि साँचो कुरा भन्छु–यी सबै संशोधन गरौँ मैले भनेको थिए । त्यसपछि पैसा लिऊ मैले भनेको । म अहिले पनि त्यो भन्छु । तर अमेरिकी अधिकारीहरूले त भनेभने । नेपालका हाम्रै देशका हौँ भन्नेहरूले पनि भन्छन्–यो संशोधन हुनै सक्दैन । यसलाई अनुमोदन गर्नुपर्छ । उहाँहरू यसो भन्नु हुन्छ । त्यस कारण नेपाललाई विदेशी कम्पनीको इसारामा समानान्तर सरकारको स्थिति उत्पन्न हुन्छ यसबाट । समानान्तर सरकार । समानान्तर सरकारको स्थिति उत्पन्न हुनुका साथै नेपाल क्रमशः पराधीनतातर्फ धकेलिनेछ । नेपाल शक्ति राष्ट्रहरूको द्वन्द्व र संघर्षको थलोमा परिणत हुनेछ । यो हामी प्रत्येक नेपालीको हित विरुद्धमा हुनेछ । त्यसैले हामीले यो एमसीसी सम्झौता यही रूपमा हुनुहुँदैन भन्ने कुरा उठाउनै पर्छ । सशक्त रूपमा हामीले बोल्नुपर्छ ।’










प्रतिक्रिया दिनुहोस्