राजनीति

अध्यक्ष प्रचण्डलाई प्रश्न : भारतीय विस्तारवादको भूमिकाबारे किन मौन ?



काठमाडौँ, १५ पौष । नेकपा माओवादीका महाधिवेशन प्रतिनिधिहरुले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक वैचारिक दस्तावेज भारतीय विस्तारवादबारे मौन रहेको भन्दै यसको कारण के हो ? भनेर प्रश्न गरेका छन् ।

बिहीबार समूहगत छलफल पछि सुझाव पेश गर्दै नेता सुदर्शन बरालले अध्यक्षको दस्तावेजको मुल स्प्रिटप्रति पूर्ण सहमत रहेको जनाउँदै प्रतिनिधिहरुले उठाएका प्रश्नहरु सुझावका रुपमा पेश गर्नुभएको हो । रिम कम्पोसा जस्ता संस्थाहरूबारे स्पस्ट धारणा र एडीबी लगायतका संस्थाका बारेमा हेर्ने दृष्टिकोण प्रस्ट हुनुपर्ने लगायतका सुझाव आएको पनि बरालले बताउनुभयो । नेपाली समाजको वर्ग विश्लेषण गर्दा आदिवासी जनजाति, थारुहरुप्रति स्पस्ट हुनुपर्ने, पार्टीका कार्यक्रमहरुको प्रभावकारिताको मूल्याङ्कन गर्नुपर्ने, पार्टीकै नेताहरु १० धनाढ्य भएको भन्ने प्रश्न उठेको र त्यसबारे समेत प्रस्ट पार्नुपर्ने प्रश्न उठेको बरालको भनाई छ ।

त्यस्तै कृषि, शिक्षा, पर्यटन, औधोगिक नीति लगायतका विषयमा प्रतिवेदनमा एकीकृत धारणा बनाउनुपर्ने सुझाव रहेको पनि उहाँले बताउनुभयो । माओका पालामा अमेरिकासँग गरिएको सन्धि जसबाट चीन युएनको सदस्य भएको र त्यसपछि अहिले चीनले सोभियत संघमा खेलिरहेको भूमिका र चीनसँगको नेपाल र माओवादी केन्द्रको सम्बन्धका बारेमा व्याख्या आवश्यक रहेको सुझाव पनि बरालको छ । स्टालिनमाथि भएको आलोचना पार्टीले कुन हदमा गर्ने भन्ने प्रश्न पनि उठेको उहाँले जनाउनुभयो ।