काठमाडौँ, १६ पौष । नेपाली काँग्रेसले आज ‘४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल गृह जिल्ला तनहुँ र महामन्त्री विश्वप्रकाश शर्माले पोखराको कार्यक्रममा सहभागी हुने छन् । साथै दिवसका अवसरमा आज काँग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी एकता तथा मेलमिलाप दिवस मनाउँदैछन् । यस अवसरमा बिपी सङ्ग्रहालयमा बिपी, गणेशमानलगायत नेताको शालिकमा माल्यार्पण गर्न लागिएको जनाइएको छ ।
पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिनको सम्झनामा हरेक पुस १६ गतेलाई ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा काँग्रेसले मनाउँदै आएको छ । २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले ‘कू’ गर्दै शासन आफ्नो हातमा लिएका थिए । तत्कालीन प्रधानमन्त्री वीपी कोइराला लगायतलाई जेल हालियो । महेन्द्रले बहुदलीय प्रजातान्त्रिक व्यवस्था विघटन गरी राजनीतिक दलमाथि प्रतिबन्ध लगाएर नेताहरूमाथि देशद्रोहको मुद्दासमेत लगाएका थिए। तर, २०२५ कात्तिक १४ गते वीपी कोइरालालगायतका नेताहरु जेलमुक्त भए । त्यसपछि उनीहरु भारतमा निर्वासन जीवन बिताउन थालेका थिए ।
२०३३ साल पुस १६ गते वीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायत नेताहरु राष्ट्रिय एकता र मेलमिलापको सन्देशसहित नेपाल फर्किएका थिए । दक्षिण एशियामा देखिएको तत्कालीन राजनीतिक सङ्क्रमणबाट नेपाललाई बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई बेवास्ता गर्दै त्यसबेला स्वदेश फर्किएका काँग्रेस नेता बिपीले मुलुकको सार्वभौम सत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा राखेका थिए ।
विसं २०३४ जेठ २७ गते मिति खाली राखी उपचारपछि फिर्ता भई कारागारमा फर्कने गरी कोइरालालाई रिहा गरिएको थियो । सुन्दरीजलको बन्दीगृहमा बसेकै बेला कोइरालाले ‘श्वेतभैरवी’ कथासङ्ग्रह, ‘सुम्निमा’, ‘बाबुआमा र छोरा’, ‘तीन घुम्ती’, ‘मोदिआइन’ र ‘हिटलर र यहुदी’ उपन्यास, ‘आफ्नो कथा’ (आत्मजीवनी) तथा जेल बस्दाको दैनिकी (पछि ‘जेल जर्नल’शीर्षकमा प्रकाशित) लेखेका थिए । बन्दीगृहमा बस्नुअघि विसं २००८ मा उनको ‘दोषी चश्मा’ कथासङ्ग्रह प्रकाशन भएको थियो ।










प्रतिक्रिया दिनुहोस्