राजनीति

एमालेको बढ्दो लोकप्रियताका कारण चौतर्फी घेराबन्दी भयो : महासचिव पोखरेल



बाँके, १७ पौष । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले एमालेको बढ्दो लोकप्रियताका कारण चौतर्फी घेराबन्दी भएको गुनासो गरेका छन् ।

नेकपा (एमाले)  बाँकेले आज नरैनापुर गाउँपालिकामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनले जनताले रुचाएकै कारण अहिले एमाले विरुद्ध गठबन्धन भएको दाबी गरे । एमालेले देश, जनता, राष्ट्र र परिवर्तनको पक्षमा राम्रो काम गर्दा चौतर्फी आक्रमण गरी एमालेलाई रोक्न गठबन्धन र घेराबन्दी भएको उनले प्रष्ट पारे ।

महासचिव पोखरेलले भने, “जनताले एमालेलाई रुचाएका कारण अन्य दलले एमालेसँग एक्लै चुनाव लड्न सक्ने अवस्था छैन् । एक प्रकारले पार्टीविरुद्ध घेराबन्दी छ र नेतृत्वमाथि चौतर्फी हमला भइरहेको छ, एक हिसाबले भन्दा हाम्रो पार्टीलाई एक्लो बनाउने प्रयास पनि भएको छ ।”

महासचिव पोखरेलले आफू लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा बाँकेको नरैनापु्र गाउँपालिका क्षेत्रको शिक्षा, स्वास्थ्यलगायत समग्र विकासमा योजनाका साथ काम गरेको उल्लेख गरे ।