समाचार

ओमिक्रोनको असर: फोक्सोमा कम, घाँटीमा धेरै



काठमाडौँ, १९ पौष । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले फोक्सोमा धेरै हानी नगर्ने बताइएको छ ।

बेलायतमा ६ वटा अनुसन्धान समूहले गरेको अध्ययनले ओमिक्रोन भेरियन्टले फोक्सोमा कम असर गर्ने देखिएको छ भने घाँटीमा बढी असर देखिने गरेको बताइएको छ । युनिभर्सिटी अफ लिभरपुल मोलकुलर भाइरोलोजी रिसर्ज ग्रुपले प्रकाशित गरेको अध्ययनले देखाएको बेलायती अखबार द गार्जियनले जनाएको छ ।

युनिभर्सिटी कलेज लण्डनका भाइरोलोजी  प्राध्यापक दीनन पिल्लेले अध्ययनमा ओमिक्रोन सङ्क्रमित बिरामीको फोक्सोमा कम हानी भएको पाइएको बताइएको छ । मुसामा गरिएको अध्ययनले अन्य भेरियन्टले भन्दा ओमिक्रोनले फोक्सोलाई १० प्रतिशत कम हानी गरेको पाइएको हो ।

अध्ययनले ओमिक्रोन भएका झण्डै ७० प्रतिशत बिरामी अस्पताल भर्ना हुनु नपर्ने देखाएको थियो । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले भने केही दिन अघि ओमिक्रोन अन्य भेरियन्ट भन्दा तीव्र गतिमा फैलिने भएकाले कोरोना सङ्क्रमणको सुनामी नै आउन सक्ने चेतावनी दिएको छ ।