Banner News

गणतन्त्र पक्षधर दलहरूले लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाए : अध्यक्ष लिङ्देल



जनकपुर, २० पौष । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेलले गणतन्त्र पक्षधर राजनीतिक दलहरूले लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाएका आरोप लगाउनुभएको छ ।

मंगलबार जनकपुरमा पार्टीले आयोजना गरेको प्रदेश स्तरीय कार्यकर्ता भेला तथा आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेलले मुलुकमा गणतन्त्र आएको १५ वर्ष भइसक्दा पनि राजनीतिक पार्टीले युवाहरूलाई रोजगारी प्रदान गर्ने एउटा पनि काम नगरी लोकतन्त्रको नाममा उनीहरू लुटतन्त्र मच्चाएको आरोप लगाउनुभयो । राजनीतिक दलहरूकै असक्षमताका कारण नेपालका ५५ लाख युवा वैदेशिक रोजगारका क्रममा देश बाहिर रहेको उल्लेख गर्दै उहाँले नेताहरूकै कारण स्वाभिमानी नेपाली बेरोजगार भएर अरवियनहरूको नोकर बन्न बाध्य भइरहेको बताउनुभयो । विगतको राजसंस्थाभन्दा अहिले गणतन्त्र खर्चिलो भएको उल्लेख गर्दै उहाँले विगतमा राजाले लिइरहेको सुविधा अहिलेको राष्ट्रपति विद्यादेवी भण्डारीले लिइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘गणतन्त्र आएको १५ वर्ष भइसकेको छ । युवाहरूलाई रोजगारी सिर्जना हुने एउटा पनि काम यी दलहरूले गर्न सकेन । यिनीहरूले देशलाई बेरोजगार युवाहरू उत्पादन गर्ने कारखानामा परिणत गरिदिएका छन् । राजाभन्दा पनि अहिले देशको साधन श्रोत दलहरूले खर्च गरिरहेका छन् । प्रत्येक पाँच वर्षमा राष्ट्रपति फेरिँदा पूर्व राष्ट्रपतिहरूलाई पनि सुविधा दिने जानेको हो, राज संस्थाको खर्च र अहिलेको व्यवस्थाको खर्च धेरै फरक हुन्छ ।’