Banner News

फोहोरबाट बायोग्यास उत्पादन ‘फोहोर व्यवस्थापनको प्रभावकारी माध्यम’: प्रम देउवा



धरान, २० पौष । प्रधानमन्त्री शेरबहादुर देउवाले नगरपालिकाको फोहोरबाट ऊर्जा (बायोग्यास) उत्पादन कार्य फोहर व्यवस्थापनको प्रभावकारी माध्यम रहेको बताउँदै यस्तो परियोजना देशभरका नगरपालिकाहरुमा निर्माण गर्नुपर्ने बताउनु भएको छ ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र विश्व बैंकको सहयोगमा धरान उपमहानगरपालिकामा निर्माण सम्पन्न भएको फोहोरबाट ऊर्जा (बायोग्यास) परियोजनाको उद्घाटन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो । उद्घाटनको अवसरमा परियोजनाको अवलोकन गर्दै प्रधानमन्त्री देउवाले अत्यन्तै राम्रो कार्यको शुरुवात भएको र यस कार्यबाट फोहोर व्यवस्थापनको समस्या समाधानमा सघाउ पुग्ने भएकोले यस्ता परियोजना देशका अन्य स्थानहरुमा पनि निर्माण गर्नुपर्ने बताउनुभयो । साथै उक्त अवसरमा परियोजना निर्माण कार्यमा संलग्न वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, धरान उपमहानगरपालिका, भेञ्चर वेष्ट टु इनर्जी प्रा.लि.लगायत सम्पूर्ण निकायहरुलाई उहाँले धन्यवाद दिनुभयो ।

३० टन (दैनिक भरण गर्नुपर्ने जैविक फोहरको परिमाण) क्षमताको उक्त परियोजना नगर क्षेत्रबाट उत्पादन हुने फोहोरबाट बायोग्यास उत्पादन गर्ने नेपालकै पहिलो परियोजनाको रुपमा रहेको छ । कूल १७ करोड ५० लाखको लागतमा निर्माण भएको उक्त परियोजनामा केन्द्रको अनुदान ४० प्रतिशत अर्थात् ६ करोड ९० लाख रहेको छ । बाँकी ६० प्रतिशत लगानी परियोजना लगानी कर्ता भेञ्चर वेष्ट टु इनर्जी प्रालिले गरेको छ । परियोजनाबाट दैनिक १२५० के.जी. बायोग्यास तथा ६.५ केजी जैविक मल उत्पादन हुनेछ । परियोजनाबाट उत्पादित बायोग्यास ग्यास टेम्पो चलाउन उपयोग गरिनेछ भने उत्पादित जैविकमल स्थानीय बजारमा बिक्री गरिनेछ ।

उद्घाटनको अवसर माबोल्दै वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक डा. मधुसुधन अधिकारीले यो परियोजनागत १५ अगष्ट २०२१ मा निर्माण सम्पन्न भएको जानकारी गराउनुभयो । नेपाल सरकार र विश्व बैंकको सहयोगमा सञ्चालित नवीकरणीय ऊर्जा विस्तार कार्यक्रम अन्तर्गत वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, धरान उपमहानगरपालिका तथा परियोजना लगानीकर्ता भेञ्चर वेष्ट टु इनर्जी प्रा.लि.बीच भएको त्रिपक्षीय समझदारी बमोजिम आयोजना निर्माण भएको डा. अधिकारीले बताउनुभयो । समझदारी बमोजिम धरान उपमहानगरपालिकाले उपमहानगरपालिका भित्र उत्पादन हुने जैविक फोहोर परियोजना निर्माण भएको मितिले २० वर्षसम्म परियोजना लगानीकर्तालाई उपलब्ध गराउने, केन्द्रले अनुदान तथा प्राविधिक सहयोग गरेको छ भने परियोजना लगानीकर्ताले परियोजना निर्माण तथा सञ्चालन गरेको धरान उपमहानगरपालिकाका नगरप्रमुख तिलक राइले जानकारी दिनुभयो । डिजाइन, निर्माण, लगानी, स्वामित्व, सञ्चालनतथा हस्तान्तरण ढाँचामा आधारित रहेर परियोजना निर्माण भएको हो । परियोजनाको लागि आवश्यक जग्गाको प्रबन्ध लगानीकर्ता आफैंले गरेको नगर प्रमुख राइले बताउनुभयो । धरानमा जस्तै परियोजनाहरु कन्काई, दमक, इटहरी, घोराही, विरेन्द्रनगर, विरगञ्ज, धनगढीलगायतका नगरपालिकाहरुमा समेत निर्माणाधीन रहेका छन् । यस्तो परियोजनाहरु देशभरका २९३ वटै नगरपालिकाहरुमा निर्माण गर्न सकिने सम्भाव्यता रहेको डा. अधिकारीले बताउनुभयो ।

परियोजनाको मुख्य उद्देश्य नगर क्षेत्रबाट संकलन हुने जैविक फोहरबाट बायोग्यास तथा जैविक मल उत्पादन गर्नु रहेको छ । नगरपालिकाबाट संकलित कूल फोहरलाई धरान उपमहानगरपालिकाको वडा नं. १३ स्थित पानमारामा कुहिने र नकुहिने छुट्याइन्छ र कुहिने फोहरलाई बायोग्यास प्लान्टमा पठाइन्छ । बायोग्यास उत्पादनको लागि Mocrobe Induced Batch Digester(MIBR) प्रविधिको प्रयोग गरिएको छ । सो प्रविधि भारतबाट आयात गरिएको परियोजना विकास कर्ता भेञ्चर वेष्ट टुइनर्जीका अध्यक्ष जनेश श्रेष्ठले बताउनुभयो । उत्पादित कच्चा ग्यासलाई प्राकृतिक ग्यासको गुणस्तर मापन ः प्रशोधन गरिन्छ र प्रशोधित ग्यासलाई उच्च चापीय सिलिण्डरमा भरिन्छ । पूर्ण क्षमतामा जैविक फोहर भरण गरी परियोजना सञ्चालन हुँदा दैनिक ३०० वटा ग्यास टेम्पो (अटो रिक्सा) सञ्चालनगर्न पुग्ने बायोग्यास उत्पादन हुने अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ ।

शहरी क्षेत्र/नगरपालिकको फोहर व्यवस्थापन विश्वव्यापी रुपमै एक प्रमुख चुनौतिको रुपमा रहेको छ । फोहोरबाट ऊर्जा उत्पादन नेपालको परिप्रक्ष्यमा अझै नयाँ अवधारणाको रुपमा रहेको छ । बायोग्याँस उत्पादनको माध्यमबाट फोहरलाई ऊर्जामा परिणत गर्न र सो ऊर्जा उत्पादनको माध्यमबाट देशमा बढ्दो ऊर्जाको माग विशेष गरीलाई केहीहदसम्म सम्बोधन गर्न सम्भव छ भन्ने विश्वव्यापी मान्यता रहेको छ । नेपालमा बायोग्याँसको प्रवद्र्धन तुलनात्मक रुपमा सफल तथा हरित व्यवसायको रुपमा स्थापित भएको छ । ती बायोग्याँसहरुमा गाइवस्तुको गोबर प्रयोग हुने हुनाले नेपालको ग्रामीण भेगमा अत्यन्तै उपयोगी छ । तर शहरी तथा नगरोन्मुख क्षेत्रमा उत्पन्न हुने जैविक फोहोरबाट ठूलो परिमाणमा बायोग्याँस उत्पादन हुने प्रचुर सम्भाव्यता रहे पनिती स्रोतहरु हाल त्यतिकै खेर गइरहेको अवस्था छ । नगरपालिकाको फोहोर व्यवस्थापनको एउटै मात्र माध्यमको रुपमा हाल ल्याण्डफिल साइट प्रचलनमा रहेको पाइन्छ । तर यी स्थानहरुमा पनि फोहोर व्यवस्थापन गर्दा वातावरणमा प्रतिकूल असर पर्ने तथा विभिन्न सामाजिक समस्याहरुसँग झेल्नु परिरहेको यथार्थ छ । त्यसैले जैविक फोहोरलाई व्यवस्थापन गर्ने उपयुक्त विकल्पको अत्यन्तै सुलभ प्रविधिको रुपमा बायोग्याँस उत्पादन रहेको छ जसबाट अव्यवस्थित ल्याण्डफिल साइट र वातावरणमा प्रतिकूल असर पर्ने झण्झटबाट शहरलाई मुक्त राख्न सकिने डा. अधिकारीको कथन छ ।