राजनीति

काँग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप



रुकुम, २२ वैशाख । यहाँ विहिबार दिउँसो नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका–६ मा झडप हुँदा आठजना घाइते भएका छन् । झडपका क्रममा नेपाल तरुण दलका तीन र वाइसिएलका पाँचजना कार्यकर्ता घाइते भएको बताइएको छ ।

नेपाली काँग्रेसनिकट नेपाल तरुण दलको आन्तरिक बैठक बसिरहेको अवस्थामा वाइसिएलले आक्रमण गर्न छोजेपछि झडप भएको तरुण दलका वडाध्यक्ष उम्मेदबार विनोद कुसारीले जानकारी दिए। तर माओवादीले भने आफ्ना कार्यकर्ता बाटोमा हिँडिरहेको अवस्थामा तरुण दलले आक्रमण गरेको बताएको छ ।

झडपका क्रममा तरुण दलका हरि बस्याल, धनबहादुर विक, रवि केसी र वाइसिएलका प्रचण्ड केसी, प्रकाश ओली, विवेक विक, आकाश परियार र नरबहादुर पुन घाइते भएको बताइएको छ । घाइतेको अवस्था सामान्य रहेको भएपनि थप घटना नहोस् भनेर त्यस क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको प्रहरीले बताएको छ ।