Banner News

सदन खुलाउन तीन दलको बैठक संसद भवनमा



काठमाडौं, २२ बैशाख । अवरुद्व संसद सन्चालन गर्नका लागि प्रमुख तीन दल छलफलमा जुटेका छन ।

सहमति जुटाउनका लागि भन्दै प्रमुख तीन दलको बैठक संसद भवन नयाँ बानेश्वरमा सुरु भएको छ ।

संसद भवन नयाँ वानेश्वरमा जारी बैठकमा नेपाली काग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुको उपस्थिति रहेको बताइएको छ ।

संविधानको संशोधन, प्रधानन्यायाधीश सुशिला कार्कीविरुद्ध दर्ता भएको महाअभियोग, दुई चरणको स्थानीय निर्वाचनका विषयमा छलफल कायम रहेको छ ।

प्रमुख प्रतिक्षी नेकपा एमालेले प्रधानन्यायाधीश शुशिला कार्की विरुद्धको महाअभियोग प्रस्ताव फिर्ता नलिएसम्म संसद चल्न नदिने अडान लिएको छ । जसका कारण बिहीबार बसेको बैठक सुचना टाँस गरी स्थगित गरिएको थियो ।

बिहीबार पनि प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो । बिहीबार पनि उक्त विषयमा छलफल भएको थियो ।

छलफलमा प्रधानमन्त्रीले महाअभियोग प्रस्ताव कुनै पनि हालतमा फिर्ता नहुने अडान लिएपछि सहमति बिना नै टुंगिएको थियो ।

शुक्रबारको बैठकमा सभामुख ओनसरी घर्ती, उपसभामुख गंगा यादव, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एमाले उपनेता सुवास चन्द्र नेम्वाङ सहभागी रहेका छन ।