राजनीति

स्वास्थ्यका मापदण्ड पालना गरी माघी मनाउन प्रधानमन्त्री देउवाको आग्रह



काठमाडौँ, १ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ महामारी नियन्त्रणका लागि अवलम्बन गरेका हालसम्मका प्रयास प्रभावकारी देखिए पनि कोभिड–१९ को नयाँ स्वरूपले अझै जोखिम बढाएकाले सरकारले जारी गरेका जनस्वास्थ्यका मापदण्डको पालना गर्दै यो पर्व हर्षोल्लासपूर्वक मनाउन आग्रह गर्नुभएको छ ।

शुभकामना सन्देशमार्फत प्रधानमन्त्री देउवाले हरेक वर्ष माघ १ गते थारु, मगरलगायत विभिन्न समुदायले मनाउने माघी तथा माघे सङ्क्रान्ति पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति, दीर्घायुको कामनासहित शुभकामना व्यक्त गर्नुभएको छ । नेपाली संस्कृति र संस्कारमा आफ्ना विशेषता रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले विविधताभित्र एकता र सामाजिक सदभाव हाम्रा सांस्कृतिक विशेषताका उदाहरण भएको बताउनुभयो । प्रधानमन्त्री देउवाले यस पर्वले पारस्परिक सदभाव र सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउन प्रेरणा प्रदान गरोस भन्ने कामना गर्नुभयो ।