काठमाडौँ, ३ माघ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुई नेताबीचको भेटवार्तामा स्थानीय निर्वाचनका बारेमा कुराकानी भएको थियो । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति तोक्न गरेको आग्रहबारे दुई नेताबीच भएको छलफलमा संवैधानिक व्यवस्थाअनुसार नै तीन तहको निर्वाचित गर्न दुवै नेता सहमत हुनुभएको छ ।
त्यसका लागि मंगलबार बिहान नौ बजे उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बोलाउने र समितिको सुझाव अनुसार चुनावको मिति तोक्ने बारेमा समेत उहाँहरुबीच छलफल भएको छ । यसअघि माओवादी केन्द्रले स्थानीयसहित तीनै तहको निर्वाचन एकैपटक गर्दा राज्यको सम्पत्ति कम खर्च हुने भन्दै प्रस्ताव अघि बढाएको थियो । तर, उक्त प्रस्तावमा आलोचना बढेपछि संवैधानिक व्यवस्था अनुसार नै निर्वाचन गर्न माओवादी तयार भएको हो ।










प्रतिक्रिया दिनुहोस्