अर्थ

तेल किन्न ऋण लिनु पर्ने अवस्था आयो: आयल निगम



काठमाडौँ, ४ माघ । नेपाल आयल निगमले आफ्नो सञ्चित मुनाफा रित्तिए पछि तेल किन्न ऋण लिनुपर्ने अवस्था आएको जनाएको छ ।

निगमले एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यअनुसार नेपालमा मूल्य समायोजन गर्न नसक्दा यसै महिनादेखि तेल किनेको रकम भुक्तानी गर्न नसक्ने अवस्था सिर्जना भएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सञ्चित मुनाफा शून्यमा पुगेकाका कारण आगामी साता भारतीय आयल निगमलाई इन्धन खरिदका लागि तिर्नु पर्ने २ अर्ब रकम समेत अपुग भएको छ,‘आईओसीको २ अर्ब तिर्न ऋण लिनु पर्ने वा मूल्य स्थिरीकरण कोषको रकम चलाउनुपर्ने अवस्था सिर्जना भएको छ ।’

हाल निगमलाई पेट्रोलमा १३ रुपैयाँ १८ पैसा, डिजेलमा ८ रुपैयाँ ८१ पैसा र खाना पकाउने ग्यास एक सिलिण्डरमा ६४६रुपैयाँ १६ पैसा घाटा रहेको निगमको दाबी छ । चालु आर्थिक वर्षको ६ महिनामा भारतीय आयल निगमबाट १२ पटक नयाँ मूल्य प्राप्त भएकोमा हरेक पटक बढेर मूल्य आएको तर निगमले जम्मा तीन पटक मूल्य समायोजन गरेको जनाएको छ ।