राजनीति

नेता बस्नेतद्वारा भक्तपुरमा विद्यालयको नयाँ आधुनिक भवन शिलान्यास



भक्तपुर, २१ माघ । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले सूर्यविनायक नगरपालिका वडा नं. ८ स्थित गणेश माध्यमिक विद्यालयको नयाँ आधुनिक भवनको शिलान्यास गर्नुभएको छ ।

विहिवार सूर्यविनायक नगरपालिका वडा नं. ८ मा एसियाली विकास बैंकको आर्थिक सहयोगमा केन्द्रीय आयोजना कार्यान्वयन इकार्ई सिलपिआइयु (शिक्षा) मार्फत रु ६ करोड २५ लाखको लागतमा २१ कोठे आधुनिक विद्यालय भवनको शिलान्यास गरिएको हो । २१ कोठे उक्त आधुनिक भवनको साथ साथै कक्षा कोठा, ट्वाइलेट, खानेपानीलगायतका सुविधाहरु हुनेछन् ।

उक्त शिलान्यास कार्यक्रममा बोल्दै नेता बस्नेतले एमाले नेतृत्वको सरकारको पालामा विकासले नयाँ गतिलिएको स्मरण गराउँदै केपी ओलीको योजनालाई असफल बनाउन प्रयास गर्ने विरोधीलाई कामले जवाफ दिने उद्घोष गर्नुभयो । केपी ओली नेतृत्वको सरकारले एकै पटक ३९६ वटा अस्पतालहरुको शिलान्यास गरेको आयोजनामध्येको सूर्यविनायक नगर अस्पताल फागुनको पहिलो हप्ता उद्घाटन हुने जानकारी गराउँदै उहाँले जगाती इटा टायल कारखानामा आधा दर्जनभन्दा बढी सरकारी कार्यालयहरुको भवन निर्माण हुने विश्वास दिलाउनुभयो ।

हुँदा खाने र हुने खानेबीचको शिक्षामा भएको विभेद पछिल्लो समय अन्त्य हुने क्रममा रहेको उल्लेख गर्दै उहाँले सरकारी तथा नीजि विद्यालय पढाई हुने शिक्षामा समानताको अभ्यास शुरु भएको बताउनुभयो । विकासको आधुनिक मोडालिटीलाई पच्छ्याउन जरुरी रहेको औंल्याउँदै उहाँले स्मार्ट सिटी, आधुनिक रंगशाला, कर्बोड हललगायतका तरिकाले आगाडी बढ्नुपर्ने धारणा राख्नुभयो । नेमकिपाको विरोधका कारण रंगशालाको लागि सिपाडोलमा बनाउन नसकिएको गुनासो गर्दै नेता बस्नेतले कर्वोड हल, स्वीमिङ पुललागायतका उक्त स्थानमा बन्ने जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘नजानी नजानी विकासको विरोध गरेकालाई सम्झाउन सकिन्छ । तर बुझेर पनि नबुझे जस्तो बन्ने व्यक्तिलाई बुझाउन सकिँदैन । सुतेको विरालोलाई उठाउन सकिन्छ तर सुतेको नाटकमात्र गर्नेलाई उठाउन सकिँदैन । कतिपय व्यक्तिहरुले विकासको विरोध गर्दै हिडिरहेका छन् । उनीहरुलाई केही भन्नु छैन तर हामीले बनाएका योजनाहरु कुनै पनि हालतमा पुरा गर्छौ । स्मार्ट सिटी तथा रंगशाला निर्माण गर्न पाएको भए नेपालकै नमुना ठाउँको रुपमा स्थापीत हुने थियो ।’

प्रति जग्गा अबका दिनमा कुनै माफियाले कब्जा गर्न नसक्ने उल्लेख गर्दै विगतमा आफु मन्त्री भएको समयमा आफ्नो श्रीमतीको नाममा सरकारी जग्गा हडप्ने परिस्थितीको अन्त्य भएको बताउनुभयो । विगतमा भनसुनका आधारमा जग्गा कब्जा गर्नेहरुले नै अहिले विकासको विरोध गरिरहेको उल्लेख गर्दै उहाँले विकासको विरोध गरेर, डाहा गरेर अब जनताले नपत्याउने समेत बताउनुभयो । उहाँले भननुभयो, ‘अब चार आना जग्गा भएका व्यक्तिले चार रोपनी कब्जा गर्ने दिन गयो । कुनै पनि व्यवसायीले जग्गाको प्लानिङ गर्दा मापदण्ड पुरा गर्नुपर्ने र गर्नेछन् । कुनै पनि व्यवसायीले आफै जेल जाने काम गर्नुहुन्न । हिजोको जस्तो भनसुनका आधारमा जग्गा कब्जा कसैले गर्न सक्नेवाला छैन ।’

सत्रु र विरोधीले सरापेमा आशिषमा रुपान्तरण हुने उल्लेख गर्दै उहाँले जनतालाई दुःख दिनु हुँदैन भन्ने कुरामा आफु सचेत भएको स्पष्ट पार्नुभयो । राज्यको नीति नियममा रही व्यवसायी हुनु कुनै अपराध नभएको उल्लेख गर्दै उहाँले सवै मिली हातेमालो गरे विकास र समृद्धिको यात्रा पुरा गर्न सकिने बताउनुभयो । विदेशको विकासको मोडालिटीलाई नेपालमा प्रयोगमा ल्याउनुपर्ने धारणा राख्नुभयो । सैद्धान्तिक रुपमा लगानी गर्नु स्वभाविक रहेको उल्लेख गर्दै विरोधीले आफ्नो वारेमा गरिएको विभिन्न संघसंस्थाहरुमा लगानीको हल्ला मात्र भएको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य शशिजंग थापा, उपमेयर जुना बस्नेत, वडा अध्यक्ष किरण थापा लगायतको उपस्थितीमा नयाँ आधुनिक विधालय भवन शिलान्यास भएको थियो । वडाध्यक्ष थापाको पहल तथा आफु जनप्रतिनिधि भएबापतको राज्यबाट प्राप्त पारिश्रमिक १५ लाखसहितको रकम जगत भैरव प्रतिष्ठावानद्वारा विधालयलाई ३७ लाख सहयोग रकम हस्तान्तरण एवम् सम्मान कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न गरिएको थियो ।